कसैको चाकडी नगरेका कारण पनि फिल्मको अफर कम भएको : अभिनेत्री पूजना

३ बर्ष अगाडि

अभिनेत्री पूजना स्त्रीको पनि एक समय नेपाली फिल्ममा राम्रै माग थियो । केही सफल फिल्म दिएकी उनी लामो समयदेखि काँचको पर्दामा देखिएकी छैनन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘चकलेट’ हो, जुन उनी आफैंले निर्माण गरेकी थिइन् । यसपछि उनले पिरियड ड्रामा ‘नालापानी’ मा काम गरिन् । तर, यो फिल्मको निर्माण पूरा भए पनि प्रदर्शनमा आउन सकेको छैन ।
 
अचेल आफूलाई फिल्मबाट खासै अफर नहुने उनी धक नमानी बताउँछिन् । यसको कारण फिल्म क्षेत्रमा मौलाएको ग्रुपिज्म रहेको उनको तर्क छ । फिल्मीखबरसँग फोनवार्ता उनले भनिन्, ‘मैले नचाहेर फिल्म नगरेको होइन । म फिल्मकर्मीको रोजाईमा नपरेको हुनसक्छु । अहिले यहाँ जो चलेको छ, उसैको पछाडि दौडने प्रथा छ । पुराना कलाकारलाई फिल्ममा स्थान दिन खोजिन्न ।’
 
कसैको चाकडी नगरेका कारण पनि फिल्मको अफर कम भएको उनको कथन छ । तपाईं ग्रुपिज्मको शिकार हुनुभएको हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘त्यो त स्पष्ट छ । मैले फिल्म खेल्न कसैको चाकडी गरिनँ । न त कुनै ग्रुपसँग आबद्ध भएँ । मलाई त्यो गरेर फिल्म खेल्नु पनि छैन ।’ उनी चाँडै आफ्नै लगानीमा फिल्म बनाउँदैछिन् । उनका अनुसार, अहिले कथामा काम भइरहेको छ ।
 
अभिनेत्री पूजना आफूलाई फिल्म अफर ठप्पै भने नभएको बताउँछिन् । तर, उनलाई कुनै फिल्मको स्क्रिप्ट चित्त बुझेको छैन । उनले डेढ दशक अगाडि अभिनय गरेको ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुँदैछ । तर, यो फिल्मका लागि आफूसँग निर्माताको कुराकानी नभएको उनको भनाई छ । एक समय फिल्ममा दिएको बोल्ड सिनका कारण उनको निकै चर्चा हुने गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया