गाउँपालिकाको बजेट आफ्नो खातामा राख्ने लेखापाललाई मुक्का र लात्ति

३ बर्ष अगाडि

रुकुम पश्चिममकाे त्रिवेणी  गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा राख्ने लेखापाललाई स्थानीय युवाले कुटपिट गरेका छन् ।

केही दिन अगाडि गाउँपालिकाको बजेट आफ्नो, आफ्नो श्रीमती र भतिजाको खातामा हालेपछि विवादमा आएका लेखापाल हेमन्तप्रकाश के.सी. र लेखा सहायक सुवास के.सी.लाई स्थानीय युवाले कुटेका हुन् ।

सदरमुकाम मुसिकोटबाट फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको लामाखेत भन्ने ठाउँमा फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेको लेखापाल के.सी.ले बताए ।

केसीले कुटपिटको आरोप वडा नम्बर ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरुलाई लगाएका छन् ।

रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै गरेका लेखापाल र लेखा सहायकलाई मोटरसाइकल रोक्न लगाएर कुटपिट गरि ज्यान लिने र घर जलाइदिने धम्की समेत दिएको उनको आरोप छ ।

आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाइकल छोडि भागेर ज्यान जोगाएका थिए । घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष ०७६र०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के.सी.ले सिम्रुतुमा रहेको लक्ष्मी बैंकमा आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए ।

पछि गाउँपालिकाले छानबीन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए । घटनाको जिल्ला प्रशासनले छानबीन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया