त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे सडकखण्ड सञ्चालनमा

३ बर्ष अगाडि

त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे सडकखण्डमा पहिरो पन्छाई आज अपराह्नबाट यातायात सञ्चालनमा आएको छ । बिहीबार राति गएको पहिरो आज पन्छाई अपराह्नबाट हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

बिहीबार राति थाहा नगरपालिका–१२ स्थित ढुङ्गाखानीमा पहिरो गएको थियो । उक्त पहिरामा पुरिएर स्थानीयवासी ५४ वर्षीय काले मोक्तानको मृत्यु भएको थियो । मृतक मोक्तानको शव आज बिहान फेला परेको हो । ढुङ्गाखानी उत्खनन गर्दा मापदण्ड पूरा नगरीकन उत्खनन गरेकाले पहिरो गएको भन्दै स्थानीयवासीले अवरोध जनाएपछि यातायात सञ्चालनमा आउन सकेको थिएन । 

स्थानीयवासी, पीडित परिवार र माइनिङ एन्ड माइनिङ कन्स्ट्रक्सन मकवानपुर (ढुङ्गाखानी) का सञ्चालक  जनकपुरको धनुषा निवासी रत्न ठाकुरबीच भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु १५ लाख र परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भएपछि पहिरो पन्छाई यातायत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । पहिराले ढुङ्गाखानीमा रहेको एक स्काभेटर र तीन टिप्पर पनि पुरिएका थिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया