आजदेखि मन्दिर प्रवेश र आफन्त बोलाएर खुवाउने लगायत दर्जनौँ काममा रोक, निषेधित काम गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही

३ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा मन्दिर प्रवेशदेखि चाडपर्वमा आफन्तहरुको जमघट र रेष्टुरेण्ट लगायतका मानिसको भिडभाड हुने कार्यमा रोक लगाइएको छ । 

उपत्यकाभित्रका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले पारिवारिक जमघट तथा सार्वजनिक स्थलमा भेला, प्रदर्शनमा राक लगाएको हो । 

सो प्रतिबन्ध साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि कार्यान्वयन हुने छ।  

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा पुजारीले गर्ने नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको छ । 

त्यस्तै चाडपर्वमा परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । 

सबै शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाएको प्रशासनले प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाएका छन् । 

उपत्यका भित्र कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा÷साइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको सूचनामा उल्लेख छ । 

स्वास्थ्य मापदण्ड पूरा नगरेसम्म उद्योगीले श्रमिकको ओसारपसार गर्न र रेस्टुरेन्टमा बसेर खाजा खाना खान पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ । रेष्टुरेण्टमा अर्डर गरि खाजा÷खाना लिएर जान भने पाइने छ ।  

निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया