अमेरिकाबाट फर्किएसँगै विमानस्थलमा के–के भने केपी ओलीले ?

५ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताएका छन् । 
संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले भने, “मैले संविधान जारी भएसँगै राजनीतिक सङ्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ ।” 

महासभाको सम्बोधनका क्रममा उहाँले समकालीन विश्वका समस्या सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिइएको अवगत गराए । 
 “जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न साधनस्रोतको आवश्यकता औँल्याउँदै मानवअधिकार, आतङ्कवादलगायत विश्व राजनीतिका विविध विषयमा नेपालको स्पष्ट धारणा राखेको छु”,उनले भने । 

प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घले विश्वका अतिगरीब र जोखिममा रहेका राष्ट्रको समस्या सम्बोधन गर्न खेलेको भूमिकाको सराहना गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को उद्देश्य हासिल गर्न अन्तरराष्ट्रिय सहयोग र सद्भावका लागि समेत आग्रह गरिएको बताए । 

प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टै भेटघाट गरी नेपाल र राष्ट्र सङ्घसँग सम्बन्धित शान्ति, विकास, सहकार्य र सहयोगसम्बन्धी विषयमा कुराकानी गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पसँग पनि भेट गरेका थिए । 
महासभाकै अवसरमा उनले क्यानडा, स्वीट्जरल्याण्ड, बेलायत, कम्बोडियालगायत मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग उच्चस्तरीय द्विपक्षीय भेटघाटसमेत गरेका थिए । 

उनले न्यूयोर्कस्थित एशिया समाजद्वारा आयोजित कार्यक्रममा नेपालको शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक सम्बोधन पनि गरेका थिए । 

महासभामा सहभागिताका अतिरिक्त मध्यअमेरिकी मुलुक कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभादो क्येसादाको निमन्त्रणामा सो मुलुकको औपचारिक भ्रमण गरी द्विपक्षीय सम्बन्धमा थप विस्तार र सुदृढ गर्ने विषयका अतिरिक्त जलवायु परिवर्तन, महिला सशक्तीकरण, कानूनी शासन, कृषि, आणविक अप्रसारण, शान्ति तथा दुई मुलुकबीच द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले कोस्टारिकाको सान होजेस्थित राष्ट्रसङ्घीय शान्ति विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा सहभागी भई विश्वविद्यालयका विद्वत् वर्ग, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी उच्च अधिकारी एवं विद्यार्थी उपस्थित समारोहलाई सम्बोधन गर्नुभएको थियो । उक्त विश्वविद्यालयले उहाँलाई सम्मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो । 

भ्रमणका दौरानमा नेपालमा लामो सङ्घर्षपछि आएको परिवर्तन र नेपालीको विकासको चाहना पूरा गर्न वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमका बारेमा एकै ठाउँबाट अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने अवसर मिल्नाका साथै आर्थिक विकासका कार्यक्रमलाई अझ सशक्त तथा प्रभावकारी बनाउन, सन् २०२२ सम्म नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन र दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबैको सहयोगका लागि आह्वान गरिएको उनले उल्लेख गरे । 

विभिन्न बैठकमा नेपालको विकास प्रक्रियामा सघाउँदै आएका मित्रराष्ट्रका नेताहरुलाई भेटेर धन्यवाद दिनाका साथै थप सहयोग र लगानीका लागि उपयुक्त समय शुरु भएको सन्देश उच्च तहबाटै प्रवाह भएको र पेचिला बन्दै गएका बहुपक्षीय मामिला तथा विषयमा सही समन्वय र सहयोगका लागि राष्ट्र सङ्घको केन्द्रीय भूमिका हुनुपर्नेमा विशेष जोड दिइएको उनले उल्लेख गरे । प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको सम्बोधन पढेर सुनाएका थिए । 

प्रधानमन्त्री ओलीको स्वागतका लागि सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री, नेकपाका नेता, सांसद, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए । 
सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै यही असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए । 

महासभामा विश्वभरबाट १२१ राष्ट्र÷सरकार प्रमुखले भाग लिई समकालीन अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र यसका चुनौती, दिगो विकास, जलवायु परिवर्तन, राष्ट्र सङ्घको सुधार, द्वन्द्व तथा आतङ्कवादजस्ता जल्दाबल्दा विषयमा आआफ्ना देशका धारणा राखेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया