पुनहिलमा पर्यटकको भीड

५ बर्ष अगाडि

 अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो । 

अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन गर्बुजा पुनले बताउनुभयो । उहाँका अनुसार, घोडेपानी हुँदै पुनहिल क्षेत्रको भम्रणमा आउने अधिकांश पर्यटक बाह्य मुलुकका रहेका छन् । गुराँसे जङ्गल हुँदै पुनहिल पुगेका पर्यटक बिहानी सूर्योदयको अवलोकनसँगै गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गरी फर्कने गरेका छन् । 

अन्नपूर्ण फेरोको पदमार्गले समेटिएको पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले आफू चार पटकसम्म यस क्षेत्रको भ्रणमा आएको पुनहिलमा पुगेका क्यानडाका पर्यटक नर्मनले बताउनुभयो । “म ७८ वर्षको भएँ, मलाई यो ठाउँ असाध्यै मन पर्छ, म चार पटक नेपाल आएँ, चारै पटक यसै क्षेत्रको भ्रमणमा आएको छु, यहाँको सुन्दरता र पर्यटकीय व्यवस्थापनले मलाई आकर्षित गरेको छ”, उहाँले भन्नुभयो । 

विभिन्न क्षेत्रबाट आउने पर्यटकको आवास र खानाको लागि घोडेपानीमा २३ सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेको स्थानीय होटल व्यवसायी ओमनारायण पुनले बताउनुभयो । “पहिले केही समस्या थियो, अहिले यहाँका व्यवसायीले होटलको क्षमता विस्तार गर्दै लगेका छन्, यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै समस्या छैन, हामीले पर्यटकलाई आरामदायी बसाईलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । 

घोडेपानी र पुनहिल क्षेत्रको भम्रणमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रने गरेका छन् । यहाँ पर्यटकलाई थप आकर्षित गर्न पदमार्गलाई नियमित सरसफाइ गर्ने व्यवस्था गरिएको छ भने प्लाष्टिकमुक्त बनाइएको छ । कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा, फूलबारी भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय पुनहिलमा प्रवेश टिकट र चिया पसलको लागि यस वर्ष मात्रै अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखमा ठेक्का लगाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया