आज सर्वोच्च अदालत बन्द, नेकपा नामको विवादमा फैसला नहुने

३ बर्ष अगाडि

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवाद सम्बन्धी निर्णयको फैसाला आज नगर्ने भएको छ । 

नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको थियो । 

तर, मंगलबार साँझ पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्चका न्यायाधीश संलग्न सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले शोक मनाउन बिहीबार मुलुकभरका सबै अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको छ ।

कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएपछि २० गते निर्णय सुनाउने तय थियो ।

सत्तारुढ नेकपाभित्र पार्टीको आधिकारिकता विषयमा विवाद चर्किएका बेला कट्टेलले २०७५ मंसिर २१ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । यसअघि यो रिटमाथि पेसी चढे पनि सर्दै आएको थियो । नाम विवाद किनारा लागे सत्तारुढ नेकपाको विवादसमेत किनारा लाग्ने आँकलन गरिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया