निजी क्षेत्रका आयोजनाको काम धमाधम : न्यादी जलविद्युतको हेडरेस टनेल 'ब्रेक थ्रु'

५ बर्ष अगाडि

काठमाडौ – लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा स्थित ङादी खोलामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको हेडरेस टनेलको ब्रेक थु्र गरिएको छ ।

प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका प्रोजेट म्यानेजर उत्तम अमात्यले आयोजनाको ३.८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताउनुभयो । आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन सुरु गरेका छन् । 

विद्युतगृहको फाउण्डेसन सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ । बाँध क्षेत्रमा ढलानको काम भइरहेको आयोजनाले जनाएको छ । विद्युत्गृहमा २ वटा पेलटन टर्वाइन राखिनेछ भने यसको ३० प्रतिशत काम पूरा भएको छ । सर्ज ट्यांकको निर्माण कार्य सकिएको प्रोजेक्ट म्यानेजर अमात्यले जानकारी दिनुभयो ।

२०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको उक्त आयोजनाकोे २०७६ चैत २३ (२०२० अपिलत ५) मा सक्ने सम्झौता भएको थियो । सम्झौता अनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको अमात्यले बताउनुभयो । सम्झौँता अवधिमै निर्माण सकिने लक्ष्य अनुसार २४ सैँ घण्टा काम भैरहेको आयोजनाले जनाएको छ ।

३० मेगावाटको उक्त आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैकले (नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी) ऋण लगानी गरेका छन् ।

आयोजनाले मस्र्याङ्दी गाउँपालिका ३ खुदी टारीकुनासम्म १३२ के.भी. को साँढे ५ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने कार्य थालेको जनाएको छ । नेपाल विद्युत प्राधिकरणवाट खुदीको टारीकुनामा निर्माण हुने २२० के.भी.वस्टेसन तथा प्रशारण लाईनको निर्माण कार्य गर्न टेण्डर भइसकेको आयोजनाले जनाएको छ । न्यादी जलविद्युत आयोजनाले वैकल्पिक थप प्रसारण लाइन समेत निर्माण गर्ने बारे नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पेश गरि सकेको प्रशासकीय अधिृकत बासुदेव गर्तौलाले बताउनुभयो ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । आयोजनामा वुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानी रहनेछ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया