(Friday, 14 December, 2018)
By: आजको अर्थ
मंसिर ९, २०७५

सरोजदिलु
कुनै जमाना थियो– लभलेटर साहित्यको । एउटा समय थियो– प्रेमपत्र लेख्ने, प्रेम प्रस्ताव राख्ने र प्रेमलाई स्वीकार्ने र विवाह वन्धनमा बाँधिइ जीवनलाई सुन्दर बनाउने । लभलेटरमा त्यति शक्ति थियो, जसले अपरिचत, नयाँ नौलो सोच्दै नसोचेको मनलाई एकैचोटी वशीभूत बनाउन सक्थ्यो । फरकफरक मनहरुलाई मिलाउन सक्थ्यो । फरकफरक जात धर्म र दुरीलाई पनि नजिक गराउन सक्थ्यो । चाहेको मानिसको आसय बुझ्ने र उसलाई नजिक ल्याई जीवन साथी बनाउने सहज माध्यम थियो । मानिसका मनहरुलाई कोमल ढंगबाट पर्गाल्ने, आत्मिय बनाउने मन मुटु नै साटासाट् गर्ने त्यो जमानाका युवाका लागि पूल नै थियो । लभलेटरले कठोर र अपराधी युवालाई करुण र नरम बनाई प्रेमप्रति आशक्त बनाउथ्यो । मानसिकरुपमा विक्ष्प्ति भएकाहरुलाई समेत जीउने साहस दिई त्यागी र समर्पित थियो । पाउनु मात्र प्रेम होईन, समर्पण गरि अरुको खुशीमा जीवनलाई आहुतिसम्म दिन यसले प्रेरित गरेको थियो । युवा जमातलाई मात्र होइन क्रुर तथा हिंस्रक राजा महाराजा, सम्राटसम्मलाई समेत यसले प्रेम र शान्तिको मार्गमा रुपान्तरण गरेका थुप्रै इतिहासहरु छन् । अझ लभलेटरका वारेमा स्थानीय गांउघरदेखि राज्यप्रशासनसम्म ठूलै वहस र कारवाहीका विषय वन्थे । शान्ति र त्यागको एउटा गहन मन्त्र नै थियो लभलेटर साहित्य, जसले अर्को मानिसको वाच्ने साहस दिन्थ्यो, जीवनलाई आहुति दिने शक्ति प््रदान गर्दथ्यो अनि जीउने रहर जगाउथ्यो । आफ्ना मानिस टाढा भएपनि ऊप्रतिको माया सदैव साथमा हुन्थ्यो, छोडि जानेप्रति आस्था र विश्वास दिलाइराख्थ्यो । 

कोही कसैलाई मन पर्दथ्यो, कोही कसैको माया लाग्दथ्यो तर अभिब्यक्त गर्न सकिन्नथ्यो । अझ वर्ग, जात र दुरीका कारण कसैले कसैलाई चाहेर पनि आफ्ना मनका कुराहरु अभिब्यक्त गर्न नसकिने अवस्थामा चिठ्ठी नै उपयुक्त माध्यम थियो । त्यस्ता चिठ्ठीहरुमा अझ प्राकृतिक सुन्दरताका वखानसंग तुलना गर्दै लेखिन थालेपनि ती साहित्यीक प्रेमपत्रको सान्दर्भिकता अर्कै हुन्थ्यो । 
सामान्य युवादेखि राजकुमार र राजकुमारीसम्म र नेपोलियन बोनापार्ट र राजकुमारी डायनाको प्रेमपत्रसम्म हामीले देखेका पढेका छौं । साहित्यका मुख्यतः पाचै विधालाई समष्टीगत गरी लेख्न सकिने प्रेमपत्रहरुको इतिहास नेपालका सानासाना राज्यदेखि ताजमहल र रोमियो जुलियट, हिर्राञ्झासम्मका इतिहासमा भेटिन्छन् । साह्रै सुन्दर साहित्य । वेलायकै रिचार्ज वर्टन र इजिलावेभ टैलरको प्रेमलाई मुर्तरुप दिन सुन्दर साहित्यले ठूलै भूमिका खेलेको छ । नेपोलियन वोनापार्टकी माइली श्रीमती मारिया वालेस्कीसंग गहिरो प्रेम र वालेस्कीले लेखेको प्रेमपत्रकै कारण आइसल्याण्डसंगको अन्तिम युद्धमा बोनापाट पराजित भएको भन्ने इतिहास पनि छ । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनले पत्नी नान्सी रेगनलाई विवाह भएको ३१ वर्षपछि लेखेको साहित्यीक लभलेटरका वारेमा हामीले पढेकै छौं (सन् २००० मा प्रकाशन भएको रेगनको पुस्तक आइलभ यु रोनी)। अमेरिकाकै २८ औं राष्ट्रपनि उड्रो विल्सनदेखि विश्वका ठूलाठूला र महान ब्यक्तिहरु जो लभलेटर लेख्थे । प्रेममा ब्याकुल थिए । ब्याकुल प्रेमलाई सार्थक तुल्याउन प्रेमपत्रहरु लेख्थे । 

आजकाल प्रेमपत्र लेखिदैन । शहरिया टी–नेज पुस्तालाई प्रेमपत्र हातले लेखिन्थ्यो भन्दा हासो लाग्न थालेको छ । विज्ञान प्रविधि र इन्टरनेटको जमानाले कलम चलाउनै धेरैलाई अल्छि लाग्न थालेको छ । यस्ता सामाजिक सञ्जालका माध्यममा लेखिने प्रेमपत्रहरुमा कलमले लेखिने साहित्य छैन, कला पनि छैन । कुनै प्राकृतिक सुन्दरतासंग मानिसको रुपरंग र आचरणलाई तुलना गरिदैन । वरु ‘फेवाताल जस्ता आँखा तिम्रा, माछापुछ्रे हिमालजस्तो नाक तिम्रा, सीमल काँडे छाती फलानो हीरो हिरोइन जस्तो रुप र शरीर तिम्रो’ आदि भनेर उल्फट्यांग गरिन्छ । 

साहित्यीक प्रेमपत्रमा प्राकृतिक वखानको घेरामा बाँध्दै मनपरेको मानिसलाई आफ्नो अन्तरआत्मा कैद गरिने कला हुन्छ । तर अहिलेका इ–पत्रहरुमा वदामी आँखा, सुनकेशरी लालुपाते ओँठ् चन्द्रमुहार जसले आफ्नो जीवन पूर्ण हुने र जुनीजुनी बाच्न प्रेरणा दिने आग्रह गरिदैन । वरु प्रेमपत्रमा सिधै यु सेक्सी भनेर यौनको कुरा गरिन्छ । कोकाकोलाको वोतलसंग प्रेमीको शरीरलाई तुलना गरिन्छ । मायालाई रेष्टुरेन्टको खानापिनासंग दाँजेर हेरिन्छ । अहिलेका पुस्तालाई प्रेम एउटा देखासिखीको संस्कार बन्दै गएको छ । कलेजमा केटा वा केटीको गर्लप्रेण्ड वा ब्वाईप्रेन्ड छैन भने उसको प्रतिष्ठा हुन्न । अझ आधुनिक भनिने महंगा कलेजहरुमा एउटा युवकका दर्जनौ गल्फ्रेण्ड र एउटी युवतीका त्यति नै ब्वाइफ्रेण्ड हुनेगरेका छन् । उनीहरु त्यस्तै प्रेममा रमाउछन् । अन्ततः जव आफ्नो नीजि जीवनको शुरुवात हुन्छ तव उनीहरु ती सवै जीवनसाथीलाई छाडेर विदेशीतिर कुचो लगाइरहेका मानिस खोज्ने र तिनीहरुसंग विवाह गर्ने साधना गरिरहेका हुन्छन् । 

लिखित प्रेमपत्रको अन्तिम विन्दू थियो– दुवै मिलेर जीवनलाई शान्ती दिनु, आफू मरेर पनि अरुलाई बचाउनु र आफ्नो प्रेमी बाचेकोमा गर्व गर्नु । अहिलेको प्रेममा शान्ति हुदैन, आक्रोश हुन्छ, हिंसालाई प्रेरणा दिइरहेको हुन्छ । अन्त्यमा एकैक्षणको यौन तृत्पतामा गएर टुंगिन्छ । प्रेममा यौन नहुनसक्थ्यो, भए पनि त्यो अति नै पवित्र र एकआर्कालाई सदाका लागि जीवन समर्पित गर्ने कसी बन्दथ्यो । तर आजको प्रेमले केवल यौनको माग गर्दछ । त्यो पनि हिंस्रक र असुक्षित यौनसम्वन्ध । अन्ततः त्यस्ता प्रेम कि सम्झौतामा कि त दुश्मनीमा पुगेर टुंगिएको छ । त्यसले आफ्नो पुस्तालाई मात्र होईन तिनीहरुबाट जन्मिएका पुस्तालाई समेत असर पुर्याइरहेको छ । 
प्रेममा अनुनय, विनय, समिपता, समागम, मिलनविछोड सवै हुन्थ्यो । त्याग र समर्पणमा समेत प्रेमीप्रेमिका राजी हुन्थे । त्यही प्रेमलाई प्रेमपत्रले अझ गाडा बनाउँथ्यो । तर अहिलेका नयाँ पुस्ता फास्टट्रयाकमा प्रेम गर्न रुचाउछन् । फेसवुकमा च्याटिंङ्ग अनि पार्कमा डेटिङ्क, होटलतिर इटिङ्क र गेष्टहाउसतिर स्लीपिङ्ग यति नै प्रेमको सार्थकता हो भन्ने ठान्दछन् । यसले हाम्रो संस्कृति, सभ्यता र सहिष्णुताको अन्त्य भई विकृती र असभ्यतातिर धकेल्दै विस्तारै समाजलाई विगठनतिर लगिरहेको हामी पाउँछौं । समाजमा छरछिमेक, सामाजिक प्रतिष्ठा, इज्जत इमान, दयामाया, सरसहयोग भन्ने हराउँदै गएको छ । समग्रमा भन्दा विभिन्न संस्कृती, धर्म, कूल, परम्पराहरु हराउँदै मतलवी समाजको निर्माण हुदैछ । कुनै जमानामा प्रेमपत्रको खेस्रासमेत घर वा विद्यालयमा भेटियो यो सार्वजनिक विषय बन्थ्यो, स्कुलबाट रेष्टिकेट् समेत हुनसक्थ्यो । तर आजका स्कुल कलेजहरु प्राय खुलेआम किसिङ्पार्क र सेक्स अफेअर सेन्टर बन्दा पनि अभिभावक र शिक्षकहरु नयाँ जमाना भन्दै स्वीकारिरहेका छन् । अर्थात छोरी वा छोराको यस्ता करामतलाई आखाँले देखेर मनले छोपेर बस्नु परिरहेको छ । मोवाईलमै झुण्डिरहेका युवायुवतीहरु हामी जताततै देखिरहेका छौं । यिनीहरु मध्ये अधिकांश प्रेमका लागि वार्तालाप गरिरहेका हुन्छन् । त्यस्ता ई–वार्तालापमा न कुनै रस छ न कुनै साहित्य । ठाडा कुरा हुन्छन्, न विम्रता र न गहनता सिधै टुंगिन्छ प्रेम । अनि स्वार्थ, गालीगलौज र हिंसामा पुगेर यी प्रेमहरुको दुखद् अन्त्य भएका छन् ।  

मानवतालाई जगाइराख्न र शान्तिमा नै जीवनको आनन्द मान्न हिजोका साह्त्यिीक प्रेमपत्रहरु मुल्यवान थिए । मानव जीवन र जगतलाई सुन्दर बनाउन र शान्ति खोज्न त्यस्ता प्रेमपत्रका विषयमा युवा पुस्ताले अध्ययन गर्न जरुरी छ । यसर्थ आफ्नो प्रेमलाई शक्ति दिन, रसमय तुल्याउन तथा समाजउपयोगी बनाइ हाम्रो मानवधर्म र संस्कृतिलाई बचाइराख्न नयाँ पुस्ताले प्रेमपत्रको परिभाषा र कलालाई फेरी पुनर्विचार पो गर्ने हो की ?


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत