पर्वतको महाभीर खोलामा क्यानोनिङ

६ बर्ष अगाडि

पर्बत – साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ ।  जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिए । 

क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र यसै सातादेखि नियमितरुपमा सञ्चालनमा ल्याइएको उनले बताए । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । 

स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको गुरुङले जानकारी दिए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ । 

एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीसमेत भइरहेको स्थानीयवासी राजन गुरुङले जानकारी दिए । उनका अनुसार जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि यस क्यानोनिङको महत्वपूर्ण योगदान रहने विश्वास लिएका छौँ । 

नेपालका लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै आएकामा साविक धौलागिरि अञ्चलमा पहिलोपटक उक्त क्यानोनिङको सञ्चालन भएको सञ्चालक गोलमान गुरुङले जानकारी दिए । 

उनका अनुसार पर्वत हुँदै हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपूर्ण तथा धौलागिरि जाने पर्यटकलाई पनि उक्त क्यानोनिङसम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउने गरी तयारी भइरहेको समेत गुरुङले जानकारी दिए । 

अहिलेसम्म नेपालमा वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब १० हजारले क्यानोनिङ गर्दै आएकामा यो झरनामा पनि वार्षिक एक हजारसम्म पर्यटकलाई भित्र्याउन सकिने सञ्चालक समितिको विश्वास रहेको छ । 

क्यानोनिङ सञ्चालनका लागि टानसँग समन्वयसमेत भइरहेको बताइएको छ । क्यानोनिङ सञ्चालनका लागि स्थानीय साझेदार संस्थासँगसमेत समन्वय गरेर अघि बढिने भएको छ । यस क्षेत्रमै पहिलोपटक नमूनाका रुपमा सञ्चालन गर्न लागिएको क्यानोनिङका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने, स्थानीय होमस्टे सञ्चालकको व्यवसाय प्रबद्र्धन हुने र केही मात्रामा रोजगारीसमेत सिर्जना हुने एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष गोलमान गुरुङले जानकारी दिए । 

अहिले परीक्षणका क्रममा सहभागी आन्तरिक तथा बाह्य पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको र यहाँ एकपटक क्यानोनिङ गर्नेहरु सधैँ लोभिने स्थानीयवासी राजन गुरुङले जानकारी दिए । उनले धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आउने जोसुकै पर्यटकसमेत नियमित क्यानोनिङ सञ्चालनपछि यहाँ आउने विश्वास बताएका थिए । 

गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तुको शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया