सौन्दर्यकी खानी बराहपोखरी

५ बर्ष अगाडि

खोटाङ – चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको आकर्षण बढेको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने ‘बराहपोखरी’ लाई सौन्दर्यकी रानीको रूपमा लिइन्छ । झण्डै पा“च किलोमिटर क्षेत्रफल ओगटेको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्छ । परापूर्वकालमा एउटा घरको अगेनाबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहा“बाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर ताल बनेकाले यसलाई बराहपोखरी भनिएको किंबदन्ती छ । 

दुई दिन पैदल यात्रा गरेर दिक्तेल बजारदेखि टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोलापारी बराहपोखरी पुगिन्छ । यसैगरी उदयपुरबाट खोटाङ हुँदै र उदयपुरको सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाँध हुँदै पनि त्यहाँ पुगिन्छ । बराहपोखरीमा स्थानीय शैलीका होटल प्रशस्त रहेकाले बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुललगायत परिकारहरू प्रशस्तै पाइन्छन् । 

उक्त पोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास छ । बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वासका साथै शान्तिको कामनाका लागि जोडी परेवा उडाउने पनि गरिन्छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजा गरे सन्तान पाइने जनविश्वास पनि छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सत्बीज छर्ने गरिन्छ । 

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाको धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । यस वर्षको मेलामा मात्रै डुङ्गा सयर गर्ने पर्यटकबाट रु ६० हजार सङ्कलन गरिएको पोखरी व्यवस्थापन समितिले जनाएको छ । हालै नेपाल सरकारले देशका १०० गन्तव्यस्थलमध्ये यो पोखरीलाई एक गन्तव्यस्थलको रूपमा घोषणा गरेकाले यस जिल्लाको पर्यटन विकासका लागि यो घोषणा कोशेढुङ्गा साबित भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई बताउनुहुन्छ । 

आव २०७३÷७४ मा यस पोखरीको पूर्वाधार विकासका लागि उहाँले संसदीय विकास कोषबाट ६० लाख उपलब्ध गराउनु भएकामा त्यसबाट बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया