ओलीको फोटोले शहर सजाएको प्रकरणमा बोल्यो काँग्रेस

५ बर्ष अगाडि

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा आज पनि बसेको छ । 

 मंसिर ९ गतेदेखि जारी बैठकमा विधान संशोधन मस्यौदामा केन्द्रित रहेर छलफल भइरहेको काँग्रेसले जनाएको छ । 


आज के के भए निर्णय ?

१. योगदानमा आधारित सामाजिक सुरक्षा कोषका सम्बन्धमा ः 
    योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४, कार्यान्वयन प्रकृया अघि बढिरहँदा नेपाली कांग्रेस आफ्नो नेतृत्वको सरकारका पालामा संसदबाट ऐन पारित गर्न निर्वाह गरेको भूमिकाप्रति गर्व गर्दै यसको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दछ । सभापति  शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ । 
    
तर हालै मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ । 
    
यसको सफलता भड्किलो शैलिको झुठो प्रचारले होइन परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकिय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ । 
    
सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवर्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दे प्रमुख प्रतिपक्षीका रुपमा यसको सफलताका लागि नेपाली कांग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहने निर्णय गर्दछ ।

२.    काठमाडौँमा जारी एक विवादास्पद सम्मेलनमा सरकारको भूमिका बारेः
खास धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको हाम्रो ठहर छ । नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ । 


३.    नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागी भई जिल्ला फर्कने क्रममा शिक्षकहरु सवार गाडी दाङको चमेलियामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सबै घाइते शिक्षकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

४.    सुदूरपश्चिम प्रदेश सभा सदस्य मा उमादेवी वादी बीबीसीको विश्वभरका सय जना प्रभावशाली र सामाजिक सेवामा सक्रिय सूचीको १० औँ नम्बर पर्नु भएकोमा कार्यसमितिको यो बैठक हार्दिक बधाइ दिंदै उहाँको राजनीतिक र सामाजिक जीवनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछ । 
 आजको बैठकमा केन्द्रीय सदस्यहरू— रमेश रिजाल, फरमूल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे, हरिप्रसाद नेपाल, शिवप्रसाद हुमागाँई र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्माले आफ्नो धारणा राखेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 


केन्द्रीय कार्यसमितिको बैठक  सोमबार विहान ११ः०० बजे पुनः बस्ने काँग्रेसले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया