मोड्रीचले पाए ब्यालोन डी’ ओर अवार्ड, तोडियो रोनाल्डो र मेसीको एकाधिकार

५ बर्ष अगाडि

विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो । ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् ।

विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए ।

मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् । पछिल्लो १० संस्करणमा रोनाल्डो र मेसीले पाँचपाँच पटक उपाधि जितेका थिए । सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यस अवार्ड जितेपछि रोनाल्डो र मेसीबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदै आएको थियो ।

जो दौडमा थिए 

रोनाल्डो र मेसीसँगै यसपटक विश्वकप विजेता फ्रान्सका युवा स्ट्राईकर एम्बापे सहित ३० खना खेलाडी ब्यालोन डी’ ओर अवार्डको दौडमा थिए । यसपटक रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहे । चौथो स्थान हात पारेका एम्बापेले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी भने हात पारे । मेसी यसपटक पाँचौ स्थानमा रहे ।

यसैगरी इजिप्टका मोहमद सलाह छैटौं, राफेल भाराने सातौं र इडेन हाजार्ड आठौं, केभिन डि ब्रुएन नवौं र हेरी केनले १०औं स्थानमा अटाए । शीर्ष दशमा नपरेका नेमार १२औं स्थानमा रहे । अवार्डका लागि विश्वभरका एकसय ८० जना पत्रकारले मतदान गरेका थिए । फ्रान्सले सन् १९५६ देखि प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

सन् २०१० देखि सन् २०१५ सम्म विश्व फुटबल महासंघ (फिफा) सँग मिलेर यो अवार्ड प्रदान गरिएको थियो । सन् २०१६ देखि फिफा र फ्रान्सेली फुटबलले बेग्लाबेग्लै विश्वको उत्कृष्ट फुटबल खेलाडी अवार्ड प्रदान गर्दै आएका छन् । फिफाले गत अक्टोबरमा प्रदान गरेको बर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी (फिफा बर्ष खेलाडी) को अवार्ड पनि मोड्रीचलेनै जितेका थिए ।

मोड्रीचको सफल बर्ष

विश्व फुटबलका सबै अवार्ड जितेका मोड्रीचका लागि सन् २०१८ सफल बर्षको रुपमा रहेको छ । मोड्रीच आफैले यो बर्ष आफ्नालागि जीवनकै खुशीको बर्ष भनेका छन् । ‘यस बर्ष मेरालागि निकै उल्लेख्य रह्यो । ब्यालोन डी’ ओर र फुटबलले मलाई दिलाएको सफलतालाई म शब्दमा ब्यक्त गर्न सक्दिन,’ मोड्रीचले भने । एक पछि अर्को उपाधि चुमिरहेका मोड्रीचले गत अक्टोबरमा फिफाद्वारा प्रदान गरिएको बर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी (फिफा बर्ष खेलाडी) को अवार्ड पनि कुम्लयाएका थिए । फिफा बर्ष खेलाडी अवार्डमा मोड्रीचले मोहमद सलाहलाई पछि पारेका थिए ।

मोड्रीचले यसबर्ष युरोपियन फुटबल महासंघ (युइएफए) ले प्रदान गर्दै आएको युइएफए पुरुष वर्ष खेलाडी अवार्ड पनि जितेका थिए । उक्त अवार्ड जित्दा उनले रोनाल्डो र मोहमद सलाहलाई नै पछि पारेका थिए । रुस विश्वकपमा वेष्ट प्लेयर अर्वाड जितेका मोड्रीचले यसैबर्ष मिडफिल्डर अप दी इयर अवार्ड पनि जिते । रियलले च्याम्पियन्स लिग जित्दा मोड्रीचले उत्कृष्ट मिडफिल्डरको अवार्ड हात पारेका थिए । उनले ‘गोल ५०’ को अवार्ड पनि जितिसकेका छन् ।

युद्धबाट उम्किएका मोड्रीच

क्रोएसियाको निर्माण १९९१ मा युगोस्लाभियाको विघटनपछि भएको हो । युद्धको दौरानमा यहाँका मानिसले धेरै यातना सहे । सर्वियाका सैनिकले क्रोएसियालीमाथि धेरै अत्याचार गरेका थिए । त्यहाँ गैर सर्वीयाली आदीबासीविरुद्ध हत्या, आतंक र निस्काशनको अभियान चलाइएको थियो । जसमा धेरै क्रोएसियाली मारिए । धेरैले यातना सहे र कयौं घरबार बिहिन बने । मर्नेहरुमध्ये लुका मोड्रीचका हजुरबुवा लुका मोड्रिक सिनियर पनि थिए । मोड्रीच ६ वर्षको हुँदा बाल्कन युद्धको समयमा विद्रोही समुहले उनको हजुरबुवाको हत्या गरेको थियो । हजुरबुवाको हत्या हुँदा उनी हजुरबुवासँगै थिए ।

त्यतिबेला उनका बाबु क्रोएसियाको आर्मीबाट युद्ध लडिरहेका थिए । युद्ध ग्रस्त भूमिमा मोड्रीचको परिवार शरणार्थीको रुपमा बसेको थियो । जराद शहरमा उनको परिवार निकै कष्टसाथ बस्यो । मोड्रीचले सात वर्षसम्म शरणार्थी जीवन बिताए । शरणार्थी जीवन बिताइरहेको अवस्थामा उनी आफुलाई राम्रो मानिस बनाउने चिन्ता आफ्नो परिवारमा रहेको पाउँथे । उक्त कठिन अवस्थामा पनि उनले आफ्नो फुटबल खेल्ने इच्छालाई दबाएनन् र फुटबल खेल्न थाले । वरीपरी ग्रेनड र बुलेटको आवाज आउँथ्यो । तर कार पार्क गर्ने ठाउँमा मोड्रीच फुटबल खेलाइरहेका हुन्थे । उनले खेल्ने फुटबल पटक पटक पन्चर भइरहन्थ्यो ।

उनीभित्रको फुटबल खेल्ने इच्छा र इखका कारण उनी अहिलेका सबैभन्दा शक्तिशाली फुटबलर बनेका हुन् । सन् २००५ मा उनी क्रोएसियाको डाइनामो जाग्रेब क्लबमा १० वर्षको लागि अनुबन्धित भए । अनुबन्धित भएसँगै उनले त्यसबाट आएको पैसाबाट आफ्नो परिवारका लागि एक फ्ल्याट खरिद गरेका थिए ।

सन् २००८ मा टोट्टनहामले उनलाई एक करोड ६५ लाख पाउण्डमा खरिद गरेको थियो । उक्त संझौता ६ वर्षको लागि थियो । प्रिमियर लिगमा रहँदा उनले तीनसय खेलमा २२ गोल गरेका थिए । यद्यपि सन् २०१२ मा उनी रियल म्याड्रिडमा आबद्ध भए । रियलले उनलाई तीन करोड पाउण्डमा खरिद गरेको थियो । त्यसयता मोड्रीच रियलमै आबद्ध छन् । रियल म्याड्रिडबाट उनले धेरै उपाधि जितेका छन् । मोड्रीचले क्रोएसियाबाट अन्तर्राष्ट्रिय फुटबलको सुरुवात सन् २००६ मा गरे । उनले पहिलो खेल अर्जेन्टिनासँग खेलेका थिए । पहिलो गोल भने इटालीविरुद्ध गरेका थिए । आक्रामक मिडफिल्डरको रुपमा परिचित उनको ब्यक्तिगत स्वभाव निकै शान्त छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया