विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु

५ बर्ष अगाडि

ढाका – बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो । 

सन् २०१६ मा ढाकास्थित होले आर्टिसान बेकरीमा पाँचजना लडाकूले बन्धक बनाएर गरेको आक्रमणबाट जापान, इटाली र भारतका १७ जनाको मृत्यु भएको थियो । करिब १२ घण्टासम्मको प्रयत्नपश्चात बन्धक बनाउने व्यक्तिहरु बंगलादेशी सुरक्षाफौजका कमान्डोको कारबाहीमा मारिएका थिए । उक्त कारबाहीका क्रममा दुईजना सुरक्षाकर्मी समेत मारिएका थिए । 

एकजना प्रहरी अधिकारी रिपोन कुमार दासको बयानका आधारमा मुद्दाको सुनुवाई हुँदैछ । रिपोन र अरु प्रहरी अधिकारीहरुले पाँचजना लडाकू युवा क्याफेभित्र छिरेका र खाना खाइरहेका ग्राहकलाई बन्धक बनाएको प्रत्यक्ष देखेको बताएका छन् । 

शङ्कास्पद ती व्यक्तिमाथि हत्या समेतका विभिन्न आरोपमा मुद्दा चलाइएको छ । यदि अभियोग प्रमाणित भएमा उनीहरुले मृत्युदण्डको समेत सजाय भोग्नुपर्नेछ । 

ढाकाको उक्त क्याफेमा आक्रमण भएपश्चात इस्लाम विरोधी देखिएका अन्य धेरै व्यक्तिमाथि निरन्तर आक्रमण भइरहेका छन् । यस्ता आक्रमणहरु खासगरी धर्म निरपेक्ष व्यक्तिहरु, लेखकहरु, धार्मिक अल्पसंख्यकहरु, विदेशीहरु र अधिकारकर्मीहरुमाथि लक्षित भएका छन् । 

क्याफेमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो, तर शेख हसिनाको सरकारले त्यस दाबीलाई अस्वीकार गर्नुभएको छ । उहाँको विचारमा यो र बंगलादेशमा भएका अन्य आक्रमणमा बंगलादेशभित्रै सक्रिय जुमातुल मुजाहिद्दीन बंगलादेश संलग्न छ । 

प्रहरी अनुसन्धानले उक्त आक्रमणमा २२ जना लडाकू संलग्न रहेको तथ्य फेला पारेको छ । तीमध्ये आठजनामाथि सुनुवाई हुँदैछ । यी आठमध्ये छजना जेलमा छन् भने दुईजना फरार छन् । पाँचजना शंकास्पद व्यक्ति आक्रमणकै समयमा मारिएका थिए, भने अरु केही व्यक्ति सुरक्षा कारबाहीमा यसअघि नै मारिएका छन् । 

जेलमा रहेका व्यक्तिका तर्फबाट कसैले पनि प्रतिरक्षा गर्न अस्वीकार गरेपछि अदालतले नै पाँच जना कानुन व्यवसायीलाई नियुक्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया