(Friday, 14 December, 2018)
By: आजको अर्थ
मंसिर १९, २०७५

–समिर सिंह 
मानिसका विचार तथा भावनाहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिनु नै साहित्य हो । यसप्रकारको साहित्य सून्दर तथा सरल हुनुपर्दछ । त्यो सत्य र समय सापेक्ष हुनुपर्दछ । साहित्य र कला, समाजको एउटा ऐना हो । त्यो ऐनामा समाजको प्रतिबिम्ब देखिन्छ । त्यस्तै साहित्यले व्यक्ति, समाज तथा सिंगो देशलाई मार्ग निर्देशन गरेको हुनुपर्दछ ।
 
साहित्य, व्यक्ति र समाज तथा व्यक्ति र प्रकृतिबीचको अन्तरक्रियात्मक सम्बन्धका आधारमा नै जन्मिन्छ । आफ्ना इच्छा, चाहना तथा आवश्यकताहरु पुरा गर्न मानव जातीका विभिन्न गतिविधिहरु हुने गर्दछन् । यस दौरानमा उसको प्रकृतिसित प्रत्यक्ष सम्बन्ध हुने गर्दछ । प्रकृतिको सून्दर र मनोरम दृश्यहरु प्रति उसको आकर्षण बढ्दछ । र, त्यसको सून्दरताको नकल गर्ने प्रयास गर्दछ । विभिन्न चरा चुरुगीं तथा जनावरहरुको कलाबाट आकर्षित हुँदै त्यसको नकल गर्ने कोशीस गर्दछ । त्यस्तै भूगोलमा बसोबास गर्ने विभिन्न जाती, सम्प्रदाय, धर्मका मानिसहरुबीचको आपसी सम्बन्ध तथा अन्तरक्रियाका आधारमा साहित्य तथा कलाको जन्म हुने गर्दछ । 

साहित्य, भावनाहरुको कलात्मक अभिव्यक्ति हो । तर यतीले मात्र साहित्यको परिभाषा पुग्दैन । भावनाहरु पनि विद्यमान परिस्थितिबाट जन्मिने गर्दछ । विद्यमान सामाजिक, राजनीतिक, आर्थिक अवस्थाहरुबाट हाम्रा भावनाहरु अछुतो रहन सक्दैनन् । विद्यमान परिस्थितिका आधारमा नै मानिसहरुमा एकपकारको दृष्टिकोण तयार हुने गर्दछ  । र, त्यही दृष्टिकोणका आधारमा नै साहित्यको सिर्जना हुने गर्दछ । 

ऋग्वेदको प्रारम्भिककालमा मानिसहरु प्रकृति पूजक थिए, त्यसैले उनीहरुको कला तथा साहित्य पनि त्यही अनुरुपको हुने गर्दथ्यो । तर ऋग्वेदको अन्तीम समयमा अलौकिक सत्ता जन्मीयो जसको फलस्वरुप साहित्यको स्वरुप पनि त्यसरी नै परिमार्जन भयो । परिवार, राज्य तथा निजी सम्पत्तिको उत्पतीसंगै शोषणप्रधान समाजको शुरुवात भयो । समाजमा जातीय विभेदको शुरुवात भयो ।

त्यसप्रकारको सामाजिक तथा राजनीतिक परिवर्तन संगै साहित्यमा पनि परिवर्तन हुँदै गयो । ऋग्वेदको प्रारम्भिककालमा प्रकृतिको गुनगान गाउदै साहित्यको प्रस्तुती हुने गर्दथ्यो भने त्यसको अन्तिम कालमा अलौकिक सत्ताको पूजा अर्चना गर्र्दै साहित्यिक सिर्जना हुन थाल्यो । राजा महाराजाहरुको प्रशंशा गर्दै साहित्यको प्रस्तुती हुन थाल्यो । जातीय विभेदको औचित्यलाई पुष्टि गर्दै, समाजका हुनेखानेहरुको जय जयकार गर्दै गीत तथा संगीतहरुको रचना हुन थाल्यो । राणाशासनको समयमा राणाहरुको प्रशंसा गर्दै तथा राजाको शासनकालमा उनलाई विष्णुको अवतार मान्दै पूजा अर्चना गर्ने गरिन्थ्यो । यी तथ्यहरुले पनि पुष्टि हुन्छ कि साहित्यको स्वतन्त्र अस्तित्व संभव नै छैन । मानव जातीका भावनाहरु विद्यमान परिपस्थितिबाट बाँधिएको प्रष्ट हुन्छ । मानिसका हरेक सोंचाई तथा दृष्टिकोणहरु, उसका गतिविधिहरु, उसका चालचलनहरु समय र परिस्थिति संग अन्तरसम्बन्धित हुन्छन् । र, त्यही आधारमा साहित्यको सिर्जना हुने गर्दछ ।  

समाजमा एउटा त्यस्तो धारले पनि प्रतिनिधित्व गरेको हुन्छ, जसले साहित्य तथा कलालाई मनोरंजनको साधन मात्र ठान्दछन् । साहित्य अरुको निम्ति होइन, आफ्नै आनन्दको लागि मात्र हो भन्ने दृष्टिकोण रहेको पाइन्छ । त्यसप्रकारको दृष्टिकोणका आधारमा साहित्यहरु सिर्जना हुदै गए जहाँ देवि देवताहरुको स्तुतीगान, राजा महाराजा तथा कुल घरानीयाहरुको गौरव गाथा, प्रेमलहरी तथा मदन लहरी जस्ता भद्धा प्रेम गीत, मूर्तिहरुको अगाडि भक्तिभाव दर्शाउने, शासकहरुलाई खुशी पार्न उनीहरुको स्वार्थ अनुरुपका साहित्य सिर्जनाहरु अर्थात विभिन्न काव्य महाकाव्यहरु लेखिदै गए । यसप्रकारका साहित्य सिर्जनाहरुले  समाजको एउटा वर्गको प्रतिनिधित्व गर्दथ्यो । यी तथ्यहरुले पनि साहित्यको स्वतन्त्र अस्तित्व हुदैन भन्ने नै पुष्टि हुन्छ । 

इतिहासका विभिन्न कालखण्डमा एकैप्रकारका मानिसहरु हुन्छन् भन्ने होइन । राजा महाराजा अथवा राणाहरुको जय जयकारमा एकप्रकारको साहित्य बन्यो । तर त्यसप्रकाको साहित्य सबैलाई मन परेन ।  उनीहरुको शोषण र निरंकुशताको विरुद्ध अर्कैप्रकारको विचार तथा दृष्टिकोण निर्माण हुँदै गयो । र, त्यसलाई अभिव्यक्त गर्दै अर्कैप्रकारको साहित्यको उत्पती भयो ।

साहित्य, संस्कृति, मूल्य, मान्यता आदि पर्दछन् । मानिसले आफ्ना आवश्यकताहरु पुरा गर्न विभिन्नप्रकारका आर्थिक गतिविधिहरुमा संलग्न हुनेगर्दछन् । त्यसप्रकारका आवश्यकताहरु पुरा गर्न र त्यसलाई अझ सून्दर बनाउन आफ्ना औजारहरुलाई अझ सिंगार्दै गैरहेका हुन्छन् । वास्तवम यही औजार नै त्यस्तो चीज हो जसले मानिसलाई पशुबाट अलग गरायो । र, यो नै समाजको आधार हो । यही औजारलाई अझ सिंगार्दै जाँदा नै समाजमा विभिन्न प्रकारका द्धन्दहरु हुने गर्दछन् । त्यो औजारलाई यथास्थितिमा राख्ने कि त्यसमा परिवर्तन ल्याउने । समाजमा द्धन्दको मूल विषयवस्तु नै यही हो । त्यसप्रकारको द्धन्दको सन्दर्भमा नै समाजमा विभिन्न प्रकारका साहित्यहरुको सिर्र्जना हुने गर्दछन् । औजारमा परिवर्तत चाहनेहरुको एकप्रकारको साहित्यको सिर्जना गर्दै गए जबकि त्यसो नचाहनेहरुको अर्कै प्रकारको सहित्यिक धार देखा पर्र्र्र्दै गयो । यसबीचमा पनि अरु थुप्रै प्रकारका साहित्यहरुको निर्माण हुदै गयो । यसलाई नै उपरीसंरचना भन्ने गरिन्छ । 

उत्पादनका साधन अर्थात औजारहरुलाई निरन्तररुपमा सिंगार्दै जाँदा अहिले हामी सूचना तथा प्रविधिको यूगमा पुगीसकेका छौं । अहिलेको उत्पादन पद्धति यसप्रकारको छ कि एउटा व्यक्ति सिंगो संसारसित जोडिएको हुन्छ । तर अर्कोतीर व्यक्तिगत नाफामा आधारित सामाजिक संरचनाका कारण मानिसका हरेक सोंचाई र दृष्टिकोणहरु त्यसरी नै तयार हुँदै गैरहेको हुन्छ । त्यसप्रकारको दृष्टिकोणका आधारमा साहित्यको सिर्जना पनि त्यसैप्रकारको हुने भयो । व्यक्तिगत नाफाका लागि मानिस, परिवारको विरुद्ध क्रियाशील हुन्छ, समाजको विरुद्ध क्रियाशील हुन्छ, देशका विरुद्ध क्रियाशील हुन्छ । व्यक्तिगत नाफाका लागि जती फोहोरा कार्य गर्न मानव जाती क्रियाशील हुन्छ । मानिसहरुबीचको प्रेम सम्बन्ध पनि व्यक्तिगत नाफामाथि केन्द्रित हुदै गैरहेको हुन्छ । जहाँ व्यक्तिगत नाफा हुन्छ, त्यहाँ प्रेम हुन्छ अन्यथा हुदैन । यस दौरानमा उसलाई त्यसप्रकारका कला साहित्य प्रति नै  लगाव हुन्छ जसले उसको स्वार्थ पुरा गरिरहेको हुन्छ । त्यसप्रकारको साहित्यबाट नै उसलाई आनन्दको अनुभुति हुने गर्दछ । र, साहित्यिक क्षेत्रमा त्यसप्रकारको धारले प्रतिनिधित्व गरिरहेको हुन्छ । 

समाजको स्वरुप सदैव परिवर्तनशील रहदै आएको छ । इतिहासका विभिन्न चरणहरुको अध्यनन्बाट पनि यो कुरा प्रमाणित हुदै आएको छ । औजारहरुलाई तिखार्दै जाने वा यथास्थितिमा राख्ने ? यी बेग्लाबेग्लै सोचाईहरुलाई प्रतिनिधित्व गर्दै समाजमा निरन्तररुपमा दुईवटा वर्गहरुको अस्तित्व रहदै आयो । यसप्रकारको स्वार्थका आधारमा समाजमा निरन्तररुपमा द्धन्द चल्दै आयो र त्यही द्धन्दले नै समाजलाई परिवर्तन गर्दै लग्यो । हामीले देखेको के हो भने जसले औजारहरुको परिवर्तीत स्वरुप देखेनन् अर्थात जसले औजारहरुलाई यथास्थितिमा राख्न खोजे उनीहरुको अस्तित्व समाप्त हुदै गयो । उनीहरुको अस्तित्व समाप्त हुदै जाँदा उनीहरुको कला, साहित्य पनि मर्दै गयो । र, त्यसप्रकारको पुराना साहित्यको बीचबाट एउटा नयाँ प्रकारको साहित्यको निर्माण हुँदै गयो । जसले तिखारिएको औजारको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै भयो ।  

अहिलेको उपभोक्तावादी समाजमा मानिसको स्वभाव व्यक्तिवादी हुँदै गैरहेको छ । उत्पादन पद्धतिको स्वरुपका आधारमा यसप्रकारको स्वभाव निर्माण भएको हो । जसको फलस्वरुप साहित्यिक सिर्जना पनि त्यसैप्रकारको हुने भयो । तर यो सच्चाईको एउटा पाटो मात्र हो । वर्तमान उत्पादन पद्धतिभित्र पनि अन्तरविरोधहरु पनि बढ्दै गैरहेको छ । यसप्रकारको उत्पादन पद्धतिले अत्यधिक मानव जातिका भावनाहरुलाई समेट्न सकिरहेको हुदैन । अहिले तयार भएको औजारले सिमित वर्गको मात्र स्वार्थ पुरा गर्ने भएपछि सामाजिक क्षेत्रमा द्धन्द बढ्ने नै भयो । जसका कारण वर्तमान औजारलाई अझ तिखार्नुपर्ने आवाज उठ्ने नै भयो । त्यसप्रकारको परिवर्तित दृष्टिकोणका आधारमा साहित्यिक सिर्जना पनि त्यसरी नै तयार हुने  भयो । अथवा त्यसप्रकारको साहित्य प्रति आनन्दको अनुभुति हुने भयो जसले परिवर्तनको विचार बोकेको हुन्छ । जसले अत्यधिक श्रम गर्ने मानिसहरुको भावनालाई समेटेको हुन्छ ।  

साहित्य सून्दर हुनुपर्दछ । सून्दर भनेको साहित्य समय सापेक्ष हुनुपर्दछ । सून्दरताको परिभाषा, गीत तथा कविताका शब्दहरुबाट मात्र मूल्यांकन गरिनुहुदैन । साहित्यको मूल भाव, त्यसले दिन खोजेको सन्देश, त्यो साहित्यले कसको प्रतिनिधित्व गर्दछ ? लगायतका विषयहरुलाई पनि आधार बनाइनुपर्दछ । अझ स्पष्टरुपमा भन्नुपर्दा उत्पीडीत आवाजहरुको बीचबाट त्यसप्रकारको साहित्यको सिर्जना भएको हुनुपर्दछ । अनी मात्र साहित्यमा सून्दरताको झल्को आउछ । र, त्यो साहित्यमा एउटा विशेषप्रकारको आनन्दको अनुभुति हुने गर्दछ । 

छुवाछुत प्रथाबाट बर्र्षौ देखि पिडित कुनै समाजमा गएर वर्तमान परम्परा, संस्कृतिको गुनगान गर्दै कुर्नै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ भने पिडित वर्गमा आनन्दको अनुभुति हुनै सक्दैन । घरेलु हिंसाबाट शिकार महिलाहरुको बीचमा पुगेर पुरुषप्रधान समाजको वकालत गर्र्दै जती राम्रो साहित्य प्रस्तुत गरेपनि त्यसको के औचित्य हुन्छ र ? त्यसकारण साहित्यमा सून्दरता कसरी आउन सक्छ ? यो एउटा गंभीर विषय हो । र, यो विषयलाई योसित जोडिएका विभिन्न पक्षहरुसित जोड्दै सहि निष्कर्षतर्फ अग्रसर हुनु नै साहित्य निर्माणको सहि दिशानिर्देशन हुन सक्दछ । 

उपभोक्तावादी संस्कृतिलाई प्रोत्साहित गर्दै एकप्रकारको साहित्यको सिर्जना हुन सक्दछ । र, त्यसले कुनै अमुक व्यक्तिलाई क्षणिक आनन्द पनि आउन सक्ला । व्यक्तिगत नाफामा रमाउने पूँजीवादी समाजका लागि त्यो क्षणिका आनन्दको विषय पनि हुन सक्दछ । त्यसकारण मूल बिषय के हो भने व्यक्तिगत नाफामा आधारित समाजलाई समर्थन गर्ने वा बहुसंख्यक श्रमजीवी वर्गको हितको बिषयलाई प्राथमिकता मा राख्ने ? यदि पछिल्लो प्रति हाम्रो सहमति हो भने र यही आन्दोलनमा हामी जोडिएका छौै भने हामीलाई त्यही प्रकारका साहित्य प्रति आनन्दको अनुभुति हुने भयो । यसप्रकारको साहित्य, औजारलाई तिखो पार्ने बिषयसित सम्बन्धि छ भने हामी विषयमा केन्द्रित हुदै अझ नयाँ नयाँ प्रकारका साहित्य निर्माण गर्दैै जाने भयौ । द्धन्दमय समाज परिवर्तन हुँदै जाँदा हाम्रो साहित्यिक यात्राले पनि अगाडि बाटो निर्धारण गर्दै जाने भयो । 

एउटा साहित्यकार प्रेम गीतमा लिप्त हुने, रुढीवाद र अन्धविश्वासमा लिप्त हुने, हुनेखानेहरुलाई आनन्द आउने साहित्यमा केन्द्रित हुने । त्यसो भयो भने त्यो औजार झनै खिया लाग्दै जाने हुनसक्छ । समाज तथा राज्य झनै रोगग्रस्त हुँदै जाने हुनसक्छ । त्यसप्रकारको साहित्यले निश्चितरुपमा समाज तथा राज्यको उपचार गर्न सक्ने छैन । राज्य तथा समाजका विकृति तथा विसंगतिहरुको अन्त गर्न, कला तथा साहित्यको महत्वपूर्ण भूमिका हुने गर्दछ । त्यसकारण एउटा साहित्यकारको गंभीर्यता सिंगो औजारको उपचार गर्ने तर्फ हुनुपर्दछ । औजारहरुलाई अझ तिखार्नेतर्फ हुनुपर्दछ । त्यो दिशामा आफ्ना सिर्जनाहरु प्रस्तुत गरिरहनुपर्दछ । एउटा सून्दर, सरल र सत्यतामा आधारित साहित्यको अभियानमा लागिरहनुपर्दछ ।
    
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत