झाडु वोकेर मुख्यमन्त्री राउत जनकपुरधाम सफाइमा उत्रिएपछि.....

५ बर्ष अगाडि

जनकपुरधाम - बुधबार विहान प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधामका स्थानीय एकाएक अचम्ममा परे । सामान्य अवस्थामा पनि अस्तव्यस्त जस्तै हुने धाम क्षेत्रमा रहेका स्थानीय सुरक्षा निकायसहित ठूलो हुल धार्मिक क्षेत्रमा उपस्थित हुँदा अचम्ममा नपर्ने कुरै भएन । धेरैलाई त के गर्न लागिएको हो भन्ने अड्कल काट्न समेत मुस्किल परेको देखिन्थ्यो ।
प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत आफै मुखमा माक्स, हातमा पञ्जा लगाएर झाडु वोकेर धाम क्षेत्रमा निस्किएपछि स्थानीयमा कौतुहलता हुनु स्वाभाविकै थियो । बुधबार यस क्षेत्रमा यस्तै भयो । सरकारका मुख्य मन्त्री नै अन्य प्रदेश मन्त्रीहरु, सुरक्षा निकायमा प्रमुख सहित दलवल लिएर जनकपुरधाम सफाइमा निस्किएका थिए । जसका कारण धेरैलाई अचम्मित तुल्याएको थियो ।


यतिवेला प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधाममा विवाह महोत्सवको व्यापक तयारी भइरहेको छ । महोत्सवका लागि जनकपुरधाम क्षेत्रलाई सजावट गर्ने काम पनि थिव्र रुपमा भइरहेको छ ।
प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरको साँस्कृतीक, ऐतिहासिक तथा सामाजिक हिसावले महत्वपूर्ण मानिएको यो महोत्सवको भब्य सफलताले प्रदेश नम्वर २ कै पहिचान झल्कने भन्दै प्रदेश सरकारले पनि त्यसका लागि तयारी तिव्र वनाइरहेको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा बृहत सरसफाइ गरिएको हो । बुधबार बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको हो ।


मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिएपछि अन्य मन्त्रीसमेत उनलाई पछ्याइरहेका थिए । यस्तै, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, सहित नेपाली सेना, प्रहरी लगायतका अधिकारी पनि उनका पछि लागेका थिए । सफाइमा विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायले सक्रिय सहभागिता जनाएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया