काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्ममा झर्ने अनुमान

५ बर्ष अगाडि

काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएर यस वर्ष शून्य डिग्री सेल्सियससम्ममा झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका कारण ४ दिनयता चिसो बढेको छ। १९ मंसीरमा उपत्यकाको तापक्रम न्यूनतम ६ र अधिकतम १९.८ डिग्री सेल्सियस छ। यो तापक्रम २० मंसीरमा पनि कायम रहने महाशाखाको अनुमान छ।

उपत्यकाको वायुमण्डल बादलले ढाकेको छ। १९ मंसीर अपरान्हमा मात्र घामका किरण जमिनसम्म देखिएका छन्। नेपालमा डिसेम्बर, जनवरी र फेब्रुअरीलाई जाडो हुने महिना मानिन्छ। नेपाली क्यालेन्डरअनुसार मंसीरदेखि फागुन अन्तिमसम्म जाडो याम मानिन्छ।

अहिले हिमाली भेगमा हुस्सु र बादल लागेको छ। महाशाखाका अनुसार १९ मंसीरमा जुम्लाको तापक्रम अधिकतम १५.१ र न्यूनतम माइनस ४.० डिग्री सेल्सियस छ।

सुवेदीका अनुसार हिमाली भेगका केही स्थानमा बिहानको समयमा हल्का हिमपात भएको छ। “तराईमा बिहानमा हुस्सु लाग्ने गरेको छ तर तत्काल शीतलहर चल्ने सम्भावना देखिएको छैन,” उनले भने।

नेपालगञ्जको तापक्रम अधिकतम २७.६ र न्यूनतम ९.७ डिग्री सेल्सियस छ। भैरहवामा अधिकतम २६.४ र न्यूनतम १० डिग्री सेल्सियस छ।

हिमाली भेगमा हल्का वर्षात् भए पनि अन्य स्थानमा तत्काल पानी पर्ने सम्भावना नरहेको सुवेदीले बताए।

५ बर्ष अगाडि

प्रतिक्रिया