(Friday, 14 December, 2018)
By: आजको अर्थ
मंसिर २०, २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
 केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।  
आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम राख्नेछ । राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ । 
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले मंसिर २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर (स्प्रेडदर) घटाउनु पर्ने सयम थप गरेको छ । राष्ट्र बैंकले बिहिबार निर्देशन जारी गर्दै स्प्रेडदर तोकिएको सिमा भित्र ल्याउने समय थप गरेको हो । राष्ट्रिय स्तरको विकास बैंक र फाइनान्स कम्पनीको हकमा पुस मसान्त सम्ममा स्प्रेडदर ५ प्रतिशतमा झार्नुपर्ने बताएको छ ।  यसअघि असोज मसान्तसम्मको समय तोकिएको थियो । यसै गरी राष्ट्रिय स्तर बाहेकका विकास बैंक र फाइनान्स कम्पनीले भने २०७६ असार मसान्तसम्म स्पेडदर पाँच प्रतिशतमा झार्नु पर्नेछ । 
यसैगरी अब देखि बैंक तथा वित्तिय संस्थाहरुले सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सकिनेछ । यसअघि यो राष्ट्र बैंकको त्रैमासिक समिक्षामा घोषणा भइसकेको  थियो ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत