ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

५ बर्ष अगाडि

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ । 

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिनुभयो । उहाँले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गर्नु भएको थियो । 

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भन्नु भएको छ । 

“उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहाँको काम गराई निकै मन परेको छ,” ट्रम्पले भन्नुभयो । 

केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उहाँले बताउनुभयो । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ । 

केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो । 

ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उहाँको ठाउँमा नियुक्त गर्नुभएको थियो । 

सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उहाँलाई जिम्मेबारी दिइएको थियो । 

उहाँले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन । 

अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन् । तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले आफै छाडेका थिए ।      

५ बर्ष अगाडि

प्रतिक्रिया