पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

५ बर्ष अगाडि

जकार्ता – इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । 

कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा निर्दोष गाउँले मारिएको विवरण सार्वजनिक भएको छ । पपुआ विद्रोही समूह र सेनाबीच पछिल्लो एक दशकदेखि सङ्घर्ष जारी छ । यद्यपी दुबै पक्षबाट मानव अधिकारको गम्भीर उल्लङ्घन भएका खबरहरु आइरहेका छन् । 

इन्डोनेसियाको सेनामाथि आम नागरिकमाथि मानवीय दुव्र्यवहार गर्ने गरेको आरोप लाग्दै आएको छ । विभिन्न समूहमा बाँडिएका विद्रोहीहरुले स्वतन्त्र पपुआ राज्यको माग पूरा नहुन्जेल छापामार युद्धलाई निरन्तरता दिने बताएका छन् । पपुआ द्वीप क्षेत्र पपुआ न्यू गिनीसँग सीमा जोडिएको स्थान हो । 

विद्रोहीका प्रवक्ता सेब्बी सामबोमले पपुआ आफ्नो मातृभूमि रहेको र यसमाथि कसैले दाबी गर्न नसक्ने बताउनुभयो । 

विगतमा डच उपनिवेश रहेको पपुआ सन् १९६१ मा स्वतन्त्र राष्ट्रका रुपमा घोषणा गरिएको थियो, तर छिमेकी इन्डोनेसियाले त्यसको दुई वर्षपछि नै पपुआलाई जबर्जस्ती आफ्नो नियन्त्रणमा लिएको थियो । इन्डोनेसियाले त्यसबखत स्वतन्त्रताका लागि जनमतसङ्ग्रह गर्ने वचनबद्धता जनाए पनि आजसम्म नगरेको विद्रोहीको भनाइ छ । 

जकार्ताले राष्ट्रसंघको अगुवाईमा गराएको मतदानको आडमा खनिज–सम्पन्न पपुआलाई सन् १९६९ मा आफैंमा गाभेको थियो । 

इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री विरान्तोले नेसनल लिबरेसन आर्मी अफ पपुआसँग वार्ताको सम्भावना नरहेको धारणा सार्वजनिक गरेलगत्तै विद्रोहीहरुले आत्मसमर्पणको प्रस्ताव अस्वीकार गरेका थिए । विरान्तोले जकार्तामा पत्रकारहरुलाई भन्नुभयो, “म आपराधिक समूहहरुसँग वार्तामा बस्दिनँ । उनीहरुले भनेका कुरा झुठा हुन् । उनीहरुले अमानवीय कार्य गरेका छन् ।” 

यो समूहले कामदार हत्याको जिम्मेवारी लिएको छ । विद्रोही लडाकूहरुले कामदारलाई गोली हानी हत्या गरेको सरकारी सेनाले जनाएको छ । 

पीडितहरु पुल र सडक निर्माणमा संलग्न कामदार हुन् । इन्डोनेसियाको सरकारी कम्पनीले गरिबीको चपेटामा परेको यस क्षेत्रमा सडक र पुल निर्माण गरिरहेको छ । विद्रोहीहरुले उक्त परियोजना सैनिक नियन्त्रणमा रहेकाले आक्रमण गरेको स्पष्ट गरेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया