कुलोको पानीमा ईट्टाभट्टाले कब्जा–किसानहरु सिँचाईबाट बन्चित

५ बर्ष अगाडि


परासी – सिँचाई कुलोको पानी एक स्थानिय ईट्टा भट्टाले थुनेर कब्जा गरेपछि किसानहरु खेती सिँचाईबाट बन्चित भएका छन् । पश्चिीमी नवलपरासीको सरावल गाउँपालिका वडा २ मा रहेको हरि ईट्टा उद्योगले कुलोको पानी थुनेर उद्योगमा प्रयोग गरेपछि वडा २ र ३ का किसानहरु गहुँ तथा मसुरो केराउ खेती सिँचाई गर्नबाट बन्चित भएका हुन् ।

सो गाउँपालिकामा पर्ने उक्त कुलो पेटबनियाँ सिँचाई कुलोको नामले चिनिने गरिन्छ । हाईवे क्षेत्रबाट बगेको विभिन्न खोलानालाहरुबाट फाटिएर बगेको उक्त पेटबनियाँ सिँचाई कुलोको पानीले सो क्षेत्रको सयांै विगाहा क्षेत्रफल सिँचाई गर्ने गरिन्छ तर उद्योगले पानी आफनो निजी प्रयोजनका लागि थुनेर कब्जा जमाएपछि किसानहरु मर्कामा परेको बताउछन् । एका त त्यस क्षेत्रमा बोरिङ्ग लाग्दैन अर्काे तर्फ भएको कुलोका पानीमा पनि उद्योगले कब्जा जमाएको छ यस तर्फ नत्र गाउँपालिकाले ध्यान दिएको छ नत्र पेटबनिया सिँचाई व्यवस्थापन समितिले नै ध्यान दिएको पाइएको छ । उद्योगले कुलोका पानीमा कब्जा मात्र होईन कुलो अतिक्रमण गरि बाटो देखि लिएर स्थायी संरचना समेत बनाएको पाइएको छ ।

सो क्षेत्रमा भूमिगत सिंचाईको स्रोत समेत नभएको उतm सिंचाई आयोजना भत्किएको बर्षाैं बितिसक्दा सरकारी निकायको वेवास्तासँगै अहिले कुलो नजिकै स्थापना भएको हरि इँटा उद्योगले सो पानी पूर्ण रूपमा थुनेर इँटा बनाउनका लागि औद्योगिक प्रयोजनमा प्रयोग गरेका छन । किसानले सिंचाई गर्न नपाएको स्थानिय हरिलाल यादवले बताए । गाउँपालिकाका जनप्रतिनिधि पनि तिनै उद्योगपतिकै पक्षमा छन् । किसानको कुरो कस्ले सुनिदिइने हो ? उनले दुःखेसो पोखे, किसानले जसोतसो स्थानीय स्तरबाट बाँध बाँधेर कुलोको पानी तोरी गहँु सिचाईका प्रयोग गर्थे अहिले सबै पानी उद्योगले थुनेर उद्योग परिसरबाट बाहिर पानी बग्नै दिएको छैन ।

खेतीयोग्य जग्गाको भूमिकरसँगै सम्पतीमा गणना गरेर एकिकृत सम्पती कर लगाई तिनै किसानको करले कर्मचारीको तलब भत्ता खाने र जनप्रतिनिधिले पारिश्रमिक सेवा सुबिधा खाने गरेका छन । तर किसानलाई के पिर मर्का परेको छ ? कसैले हेरेका छैनन । किसानले सिंचाई गर्ने कुलोको मर्मत सम्भार त परै जओस, उद्योगले पानी थुनेर उद्योगमा लगाएपछि किसानको खेतीपाती सुक्दै जाँदा गाउँपालिका र सरकार कसैले हेरेको छैन । किसानबाट कर असुल्ने बाहेक अरू केही नगरेको आरोप उनको थियो ।

उद्योगले सबै पानी थुनेर राखेको देखाउँदै भने, किसानले के गर्न सक्छ ? उद्योगको विरुद्धमा कसैले बोल्ने आट गर्दैनन। सरकार सुन्दैन, गाउँपालिकाका जनप्रतिनिधि सबै विकुवा छन । उनीहरूले किसान भन्दा उद्योगकै वकालत गर्छन । उद्योगले गर्ने प्रदुषण नियन्त्रण त कहाँ हो कहाँ ? कुलोको जग्गा अतिक्रमण गरि उद्योग खोल्ने, कुलोको पानी थुनेर पैसो कमाउने, कमाईको केही अंश नेता सरकारी कर्मचारीलाई सुँघाईदिए पछि किन किसानको पक्षमा बोल्छन ? उनले नैराश्यता प्रकट गरे ।

यता कुलोको पानी उद्योगले प्रयोग गरेको बारे सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले अनभिज्ञता प्रकट गरे । सो कुलो सिंचाई आयोजनाका मर्मत सम्भारका लागि माग पनि नआएको हुँदा बजेट विनियोजन नभएको जिकिर गरे । किसानले पानी खोल्नका लागि माग लिएर आएपछि मात्र त्यसबारे केही भन्न मिल्ने अध्यक्ष चौधरीले जवाफ दिएका थिए । गाउपालिकाको मुख्य नारा किसान र कृषि विकासको भए पनि ब्यवहारमा बजेट कार्यक्रम सडकमा ग्राभेल छर्ने,अन्य पूर्वाधारमा खर्चिने देखिएको किसानलाई नाराले मात्रै सन्तुष्ट गर्न खोज्ने गाउँपालिका कृषि र किसान प्रति गम्भिर नभएका आरोप लगाउँदै आएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया