बैतडीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

५ बर्ष अगाडि


बैतडी– नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । 

तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । दुर्गमका नागरिक गाउँघरमै निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशीसमेत भएका छन् । नेपाली सेनाले दुर्गममा आएर सर्वसाधारणलाई सेवा दिँदा निकै खुशी भएको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताउनुभयो । उपचार नपाएर रोग पाल्दै आएका नागरिकले गाउँघरमै निःशुल्करूपमा स्वास्थ्य सेवा लिन पाउँदा हर्षित भएका हुन् । 

गुल्मले शिविरमा हाडजोर्नी, स्त्रीरोग, आँखा, पेट, ग्यास्ट्रिक, दमलगायत सेवा निःशुल्क प्रदान गरेको थियो । साथै गुल्मले महिनावारी, रुघाखोकी, डे«सिङलगायत सेवा दिनुका साथै निःशुल्क औषधि वितरणसमेत गरेको थियो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा मङ्सिर २२ गतेदेखि शुरु भएको घुम्ती शिविरमा हालसम्म एक हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । शिविरमा फोटोसहितको मतदाता नामावली सङ्कलन, सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुहरूका लागि औषधि वितरण, घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयहरूले पनि सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् । 

भत्ताको रकम दलित ज्येष्ठ नागरिकको औषधोपचारमा खर्च 

जिल्लाको दुर्गम स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले तालीमबाट आएको दैनिक भ्रमण भत्ताको रकम गरीब तथा आर्थिक अवस्था कमजोर भएका स्थानीय ज्येष्ठ नागरिकको औषधि उपचारमा खर्च गरेका छन् । 

बैतडीको सिगास गाउँपालिका–९ मा रहेको चौखाम स्वास्थ्य चौकीका प्रमुख हेमन्त सिंह साउदले तालीमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरूलाई निःशुल्क औषधि वितरण गर्नुभएको छ । साउदले उक्त वडामा ७० वर्षभन्दा माथिका सीतादेवी चुनारा, देवा लुहार र सुना देवी लुहारको घरमै पुगी निःशुल्क औषधि वितरण गर्नाका साथै स्वास्थ्य जाँच पनि गर्नुभएको हो । आर्थिक अवस्था कमजोर तथा हिँड्डुल गर्नसमेत नसक्ने भएकाले घरमै गएर उनीहरूको उपचार गरेको साउदले बताउनुभयो । 

उहाँले शक्ति दिने भिटामिन, दम, पखाला, कम्मर दुख्ने, आँखा रसाउने लगायतका औषधिका साथै नुहाउने साबुन पनि वितरण गर्नुभएको छ । स्वास्थ्य जाचँका क्रममा वृद्धाहरूमा उच्च रक्तचापसँगै दम भेटिएको उहाँले बताउनुभयो । 

यही मङ्सिर ७ देखि १४ गतेसम्म कपिलवस्तुमा भएको इम्प्लान्टको तालीमबाट आएको दैनिक भ्रमणभत्ताको रकमले साउदले ज्येष्ठ नागरिकको औषधोपचार गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया