कांग्रेस महासमिति बैठकः आफ्नै प्रधानमन्त्री हटाउनेदेखि क्रान्तिका अनेक निर्णयसम्म

५ बर्ष अगाडि

काठमाडौं–नेपाली कांग्रेसको ७० वर्षभन्दा लामो इतिहासमा भएका महासमिति बैठक र सम्मेलनहरूले मुलुकमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने गरेको पाइएको छ । 

महासमिति र सम्मेलनबाटै कांग्रेसले राणा शासनको अन्त्य गर्नेदेखि तानाशाही राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र स्थापना गर्नेसम्म उद्घोष गरेको थियो र इतिहास पल्टाउँदा ती उद्घोष यथार्थ भएका थिए । 

यही मङ्सिर २९ देखि काठमाडौंमा हुने कांग्रेस महासमिति बैठकले पनि यस्तै दूरगामी निर्णय गर्दै राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउने विश्वास अधिकांश कांग्रेसजनको देखिन्छ । 

कांग्रेसको २००७ असोज १० र ११ गते भारतको वैरगिनियाँमा भएको ऐतिहासिक सम्मेलनले अहिंसात्मक आन्दोलनको रणनीतिलाई बदल्दै ‘कांग्रेस यो सम्मेलन छिट्टै हतियारबन्द क्रान्ति गर्ने निर्णय गर्दछ’ भनी राणाशाहीविरुद्ध सशस्त्र क्रान्तिमा जाने निर्णय गरेको थियो । 

सोही सम्मेलनले पार्टीको अध्यक्षमा मातृकाप्रसाद कोइरालालाई सर्वसम्मत निर्वाचित गर्नुका साथै सशस्त्र क्रान्ति सञ्चालन गर्ने असीमित अधिकार सभापतिलाई नै प्रदान ग¥यो । 

त्यही निर्णयको जगमा क्रान्ति सुरुवात भयो र २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षे राणा शासनको अन्त्य हुनुका साथै देशमा प्रजातन्त्र स्थापना भएको इतिहासकार एवं नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतले जानकारी दिए । 

बस्नेतका अनुसार २००९ साल भदौमा काठमाडौंमा भएको अर्को राजनीतिक सम्मेलनले आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदबाट हटाउने अप्रिय निर्णय गर्न पुग्यो । एकसय चार वर्षको राणा शासनपछि पनि अन्तरिम सरकारमा प्रधानमन्त्रीमै निरन्तरता पाएका मोहन शम्शेरलाई विस्तापित गर्दै कोइराला नेपालको पहिलो नागरिक प्रधानमन्त्री बनेका थिए तर पार्टीले उनलाई हटाउने निर्णय गर्यो । कांग्रेस पार्टीका सम्मेलन तथा महासमिति बैठकबाट हुने निर्णयहरूले देश तथा कांग्रेस पार्टीको जीवनमा समेत उथलपुथल ल्याउने गरेको अनुभव बस्नेतले सुनाए । आजको गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया