नुवाकोटको हृदयविदारक दुर्घटना, मृतकको संख्या २० पुग्यो, रातभर चल्यो उद्दार

५ बर्ष अगाडि

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । यस्तै घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी  दिए । उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । 

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको रातभर उद्दार चलेको थियो । 
 घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ । 

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए । 

 कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा  सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया