नेपालको राजनीतिमा निम्न पूँजीवादी चरित्र

५ बर्ष अगाडि

समिर सिंह 
नेपालको सामाजिक, राजनितीक तथा त्यसको अर्थनीतिको बारेमा निकै चर्चा हुने गर्दछ । तर यसको दार्शनिक पक्षको पनि चर्चा गरिनुपर्दछ । किनभने यी सबै अन्तरसम्बन्धित बिषयहरु हुन् । दर्शनशास्त्र निकै बृहद बिषय हो । तर यहाँ चर्चा, दर्शनशास्त्रको क्षेत्रमा एउटा भड्कावको रुपमा देखा पर्ने निम्न पूँजीवादी चरित्रको बारेमा हो । यसप्रकारको चरित्रले एउटा नेता, पार्टी, सरकार, समाज आदिलाई कसरी प्रभावित गर्दछ ? यसप्रकारको  प्रभावका कारण कुनै पनि व्यक्ति, पार्टी तथा मुलुकको किन प्रगति हुन सकिरहेको हुदैन ? यी प्रश्नहरुमा नै बिषयबस्तुलाई केन्द्रित गर्ने प्रयास गरिने छ ।  
 
निम्न पूँजीवादी चरित्रको दुई प्रकारले व्याख्या गर्न सकिन्छ । एउटा  आत्मगत र अर्को वस्तुगत विश्लेषण । दार्शनिकरुपमा भन्नुपर्दा आफुलाई प्राथमिकता दिएर गरिने निर्णय पनि एकप्रकारको निम्न पूँजीवादी हो । कुनै पनि घटना तथा गतिविधिले आफुलाई प्रभाव पार्छ कि पर्दैन ? त्यो घटनाले हाम्रा सोंचाई तथा महात्वाकांक्षासित मेल खान्छ कि खादैन ? यदि प्रभाव पार्दछ अथवा महात्वाकांक्षासित मेल खान्छ भने त्यो ठिक अन्यथा गलत । यदि यसप्रकारको दृष्टिकोण निर्माण भयो भने त्यसलाई पनि एकप्रकारको निम्न पूँजीवादी चरित्र भन्ने गरिन्छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा यसप्रकारका थुप्रै दृष्टिकोणहरु हावि हुने गरेको पाइन्छ ।

कुनै चीज तथा घटनाको बारेमा हाम्रो उपरी प्रकारको सोचाई हुने गर्नछ । त्यो आधारमा मात्र निष्कर्ष पुग्ने तरिका पनि निम्न पूँजीवादी चरित्र हो । यो अवस्थामा हामी चीज तथा घटनाहरुको तार्किक, वैज्ञानिक तथा वस्तुगत विश्लेषणको बिषयलाई उपेक्षाको बिषय बनाउछौं । कुनै अमुक व्यक्तिका बारेमा हाम्रो नकारात्मक तथा सकारात्मक सोचाई रहदै आएको हुन्छ र अन्य व्यक्तिहरुबाट पनि त्यही कुराहरु सुन्दै आईरहेका हुन्छौं । यस आधारमा नै हामी अमुक व्यक्तिको मूल्यांकन गर्दछौं । तर यसप्रकारको मनोगत विश्लेषण पनि एकप्रकारको निम्न पूँजीवादी चरित्र नै हो । यो अवस्था हामी वास्तवमा त्यो अमुक व्यक्तिको चरित्र तथा पृष्ठभूमि के हो ? त्यसको तार्किक तथा वस्तुगत विश्लेषणको बिषयलाई त्यती ध्यान दिन सकिरहेका हुदैनौं । 

दर्शनशास्त्र, विश्वलाई हेर्ने एकप्रकारको चश्मा हो पनि भन्न सकिन्छ । जस्तै यदि कालो चश्मा लगाइयो भने सिंगो संसार नै कालो हो कि भन्ने आभास हुन्छ । पहेलो चश्मा लगाएर हेरियो भने संसार नै पहेलो हो कि भन्ने आभास हुन्छ । अध्यात्मवादको चश्मा लगाएर हेर्ने हो भने सर्वत्र इश्वर भएको अनुभुति हुन्छ । त्यसको विपरित भौतिकवादी दृष्टिबाट संसार हेर्दा हरेक चीज परिवर्तनशील भएको अनुभुति हुन्छ । एवंप्रकारले निम्न पूँजीवादी दृष्टिकोणबाट हरेक पक्षहरु यसकै मूल्य मान्यता अनुरुप भएको अनुभुति हुने भयो । 

 जर्मन दार्शनिक इमाइल कान्टले भनेका छन, ‘संसारको कुनै एउटा कुनाबाट  हेर्दा एकप्रकारको अनुभुति हुन्छ जबकि अर्को कुनाबाट हेर्दा बेग्लै प्रकारको अनुभुुति हुन्छ’ । उत्तर आधुनिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसप्रकारका सापेक्षिक घटना तथा अनुभुतिलाई नै सत्य मान्ने गरिन्छ । तर यी दुई बेग्लाबेग्लै अनुभुतिहरुको अन्तरविरोधबाट सही सोंच तथा दृष्टिकोणको निर्माण हुन्छ भन्नु नै द्धन्दात्मक भौतिकवादी दृष्टिकोण हो । 

 निम्न पूँजीवाद चरित्रको आत्मगत पक्षमाथि निकै चर्चा हुने गरेको छ । यसको विपक्षमा तथा सर्वहारा विश्व दृष्टिकोणका पक्षमा निम्न तर्कहरु गरिन्छ,  आफुलाई प्राथमिकतामा राखेर मात्र कुनै निर्णय गरिनु हुदैन । पद, प्रतिष्ठा, व्यक्तिगत महात्वाकांक्षा जस्ता विषय भन्दा पनि समग्र समाज, राष्ट्र, पार्टी तथा श्रमजीवी जनताका मुक्ति जस्ता विषयमाथि केन्द्रित हुदै कुनै पनि चीजको निर्णय गरिनुपर्दछ आदि । यसप्रकारका आत्मगत पक्षको चर्चाका साथै यसका वस्तुगत पक्षमाथि पनि केहि चर्चा गरिनुपर्दछ । कसरी उत्पन्न हुन्छ त यसप्रकारको चरित्र ? कुन सामाजिक, राजनीतिक तथा आर्थिक पक्षहरुले यसप्रकारको दृष्टिकोण निर्माणका लागि आधार तयार पारिरहेको हुन्छ त ? यी लगायतका विषयहरुको समेत चर्चा गर्दा विषयवस्तुलाई थप प्रष्ट पार्न सहज हुनेछ । 

राजीतिक, आर्थिक तथा सामाजिक परिस्थितिका बीचबाट नै निम्न पूँजीवादी चरित्रको निर्माण हुने गर्दछ । अझ विशेष गरेर उत्पादनको तरिका तथा पद्धतिहरुका बीचबाट नै यसप्रकारको चरित्रको उदय हुने गर्दछ । उत्पादनको दौरानमा अन्तरविरोध घनिभुतरुपले अगाडि बढ्दा वर्गसंघर्ष तथा जनआन्दोलनले उचाँई प्राप्त गरेको हुन्छ । त्यो अवस्थामा निम्न पूँजीवादी चरित्रले त्यती अनुकुल वातावरण पाईरहेको हुदैन । त्यसको विपरित अवस्थामा भने यसको हालीमुहाली बढ्ने गर्दछ । 

 जब समाज, सामन्तवाद बाट पूँजीवादतर्फ अग्रसर भैरहेको  हुन्छ, मानिसको उत्पादन गर्ने पद्धतिमा पनि परिवर्तन हुँदै गैरहेको हुन्छ । पूँजीवादी संस्कारले मानिसमा व्यक्तिवादी प्रवृति हावि हुँदै गैरहेको हुन्छ । यो अवस्थामा मानिसले यो हेर्दैन कि के गर्दा समाज तथा राष्ट्रलाई फाइदा हुन्छ ? व्यक्तिगत नाफाका लागि उ आफ्नै परिवाका विरुद्ध पनि जान सक्छ । समाज तथा राष्ट्रका विरुद्ध पनि क्रियाशील हुन सक्छ । जहाँ नाफा तथा व्यक्तिगत स्वार्थ पुरा हुन्छ, त्यतैतीर मानिसको प्रेम तथा लगाव हुन्छ । यदि त्यसो भएन भने उ त्यसका विरुद्ध जान सक्छ । यसरी व्यक्तिवादी तथा उपभोक्तावादी प्रवृतिको विकास हुदै जानु नै पूँजीवादी संरचनानको चरित्र हो । 

कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नुभन्दा पहिले सन् १८४३ मा फिलोसोफिकल एण्ड इकोनोमिकल मेनुस्क्रिप्ट लेख्नुभयो । यूरोपियन समाज जब सामन्तवादबाट पूँजीवादतर्फ संक्रमण हुँदै गैरहेको थियो, त्यसले आम मानिसको चिन्तन तथा स्वभावमा हुने परिवर्तनका बारेमा वहाँले सो पुस्तकमा चर्चा गर्नुभएको छ । पूँजीवादको उदेश्य जसरी पनि नाफा कमाउने हुन्छ, अतः यो संरचना अन्तरगत रहेर व्यक्ति नाफा कमाउन, देशको विरुद्ध पनि जान सक्छ, समाजको विरुद्ध पनि जान सक्छ । यहाँसम्मकि आफ्नै परिवार तथा आफ्नै विरुद्ध पनि जान सक्छ । यसलाई थ्योरी अफ एलिनेशन पनि भन्ने गरिन्छ । 

यसो कसरी संभव हुन्छ त ? कार्ल माक्र्सका अनुसार मानिसको उत्पादन गर्ने तरिकाले पनि मानिसको स्वभाव, व्यक्तिवादी प्रकारको हुँदै गैरहेको हुन्छ । सामन्तवादमा एउटा कामदारले सामन्तको लागि सामान उत्पादन गरिरहेको हुन्छ । यो अवस्थामा सामन्तहरुको हित तथा खुशीका लागि कार्य गरिएको हुन्छ । यो समयमा कस्तो सामान बनाउने, उसलाई जानकारी हुन्छ । तर पूँजीवादमा प्रवेश गर्दा विभिन्न प्रकारका कामदारहरुले विभिन्न प्रकारका सामानहरु उत्पादन गरिरहेका हुन्छन् । उनीहरुलाई यो पनि जानकारी हुदैन कि त्यो सामान किन र कुन उदेश्यको लागि उत्पादन गर्ने हो । जस्तै बजारमा एउटा साइकलको आवश्यकता छ भने टायर एक ठाउमा बन्छ, टायरमा प्रयोग हुने तीली अर्कै ठाउमा बन्छ । हेन्डल अर्कै ठाउमा बन्छ भने साइकलको गद्दी अर्कै ठाउमा बन्छ । यी सबै सामान बनाउन पूजीपतिले बेग्लाबेग्लै मजदूरहरुको प्रयोग गरेको हुन्छ । यसप्रकारको उत्पादन पद्धतिका कारण पनि आम मानिसको स्वभाव व्यक्तिवादी प्रकारको हुन जान्छ । व्यक्तिवादी भन्नुको अर्थ के भने मानिसले हरेक कुराहरुको विश्लेषण आफ्नो स्वार्थमाथि केन्द्ति हुदै गरिरहेको हुन्छ । 

 एउटा गाऊ र शहरको तुलना गर्ने हो भने पनि हामी पाउछौ कि गाउको तुलनामा शहरमा पू्ँजीवादको मात्रा अलिकती बढी हुन्छ । यसप्रकारको फरक मात्राका कारण नै शहरीया मानिसहरुमा अली स्वार्थी भावनाको विकास भैरहेको हुन्छ । किनभने उनीहरुको दिनचर्या नै त्यसैप्रकारको हुन्छ । बिहानै उठ्यो अफिस गयो, बेलुका अबेरसम्म काम गर्यो । फेरि अर्को दिन आउछ उही कुरा दोहोरायो । उनीहरुलाई न त कुनै छिमेकी सीत सम्बन्ध बनाउन आवश्यक हुन्छ । कुनै सामाजिक, राजनीतिक काम गर्न पनि आवश्यक ठानिदैन । मात्र एउटा मालिकको कामदारको रुपमा उ सिमित भएको हुन्छ । यसरी उनीहरु भित्र व्यक्तिवादी स्वभाव नै हावि हुँदै गैरहेको हुन्छ ।

निम्न पूँजीवादी चरित्र निर्माण, उत्पादन प्रणालीसित अन्तरसम्बन्धित हुने प्रष्ट नै छ । मूलतः नेपाली समाज, अर्ध सामन्ती तथा अर्ध औपनेवेशिक अवस्थामा नै छ । कार्ल माक्र्सका अनुसार यसलाई आधार भन्न सकिन्छ । तर उपरीसंरचना अर्थात संस्कृति, मूल्य, मान्यता, चालचलन आदिको आधारसित तालमेल मिलिरहेको हुदैन । विशेषगरेर नेपालीको अर्थ राजनीतिमा दलाल पूँ्जीवाद हावि हुँदै जाँदा अर्थात आफै उत्पादन नगर्ने अरुले बनाईदिएको सामानमा रमाउने प्रवृति हावि हुँदै जादा समाजको संरचना पनि त्यहीरुपमा ढल्दै गैरहेको छ । नेपाली किसानले उत्पादन गरेको आलु, प्याज, लसुन आदिको स्थान विदेशी आलु, प्याज, लसुनले ओगट्दै जानु त्यस्तै विद्युत, जडीबुटी आदिमा विदेशी सामानले स्थान लिदै जाँदा पनि दलाल पूँजीवाद हावि हुँदै गएको प्रष्ट हुन्छ । 

दलाल पूँजीवादको चरित्र नै यस्तो हुन्छ कि यसले उत्पादन तथा पूर्नउत्पादन गर्दैन । देशको कच्चा पदार्थ निकासी गर्ने र विदेशीले बनाईदिएको सामान आयात गर्ने । राज्य संरचना नै यसरी तयार भएको हुन्छ कि त्यसले बिदेशी सामान बिक्रिका लागि उपयुक्त वातावरण बनाईदिएको हुन्छ ।  त्यसो हुँदा देशको अर्थतन्त्र नै खोक्रो हुदै जाने भयो । नेपाली समाज तथा राजनीतिको वस्तुगत यथार्थ नै यही हो । 
    यसप्रकारको वस्तुगत परिस्थितिका कारण मानिसको सोंचाई, दृष्टिकोण तथा क्रियाशीलता पनि त्यही अनुरुप ढल्दै जाने भयो । यो अवस्थामा एउटा किसानले खेतमा काम गरेर आफ्नो कुनै भविष्य नै देखिरहेको हुदैन । राज्यले पनि नाफा तथा उत्पादनमुखी कृषिका लागि अध्ययन् तथा अनुसन्धानलाई महत्व दिइरहेको हुदैन । यो अवस्थामा किसानहरुको ध्यान पनि  खेतको प्लटिंग गरेर बेच्ने, शहरमा एउटा खडेरी किन्ने, सबै परिवार शहरतीर बस्ने अनी परिवारको जिविकोपार्जनको लागि भारत, मलेशिया, दुबईतीर पलायन हुने ।  एउटा व्यक्ति, परिवार, समाज, पार्टी, राजनीति तथा राष्ट्रले प्रगति गर्न नसक्नुमा यसप्रकारको वस्तुगत  पक्षले धेरै हदसम्म भूमिका खेलिरहेको हुन्छ । 

समाज तथा राजनीतिमा थुप्रै विकृति तथा विसंगतिहरुका बारेमा हामी चर्चा गरिरहेका हुन्छौं । राजनीति गर्ने नेताहरुको थुप्रै कमीकमजोरीहरुका बारेमा चर्चा गरिरहेका हुन्छौ । तर यसप्रकारका विकृति विंसंगतीहरु निर्माण हुनुमा परिवर्तीत उत्पादन प्रणालीले पनि धेरै हदसम्म प्रभाव पारिरहेको हुन्छ । यो अवस्थामा सामूहिकता तथा राष्ट्रियताको भावना मर्दै गैरहेको हुन्छ । त्यसको विपरित आफुलाई प्राथमिकतालाई राखेर गरिने निम्न पूँजीवाद सोंचाईको विकास हुँदै गैरहेको हुन्छ ।

जनआन्दोलन तथा वर्ग संघर्षको उठान नै निम्न पूँजीवादी चरित्रको वस्तुगत समाधान हो । जनआन्दोलन भनेको कुनै पार्टी तथा नेताले चाहेर मात्रै हुने कुरा होइन । यसको लागि समाज तथा राजनीतिभित्रका वास्तविक अन्तरविरोधहरुको पहिचान गर्न सक्नुपर्दछ । अन्तरविरोधहरुको वस्तुगत तथा आत्मगत पक्षहरुको विश्लेषण गर्दै त्यही अन्तरविरोधहरुको बीचबाट वर्ग संघर्षलाई चर्काउने कोशीस गर्नुपर्दछ । कुनै पनि समाज तथा व्यवस्थाको लागि अन्तरविरोधको सार्वभौम अस्तित्व रहन्छ भने त्यसको पहिचान नै मुलभुत विषय हो । र त्यसप्रकारको पहिचानका साथै आत्मगत पक्षलाई अझ सशक्त पार्दै लग्नुपर्दछ । यसप्रकारको निरन्तरताले नै जनआन्दोलन अझ सुदृढ हुँदै जाने । जसको फलस्वरुप निम्न पूँजीवादी चरित्र पनि कमजोर हुँदै जाने छ । अतः आत्मगत तथा वस्तुगत दुवै पक्षबाट निम्न पूँजीवादी चरित्रका विरुद्ध सचेत अभियान चलाउनु नै सहि पद्धति हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया