नेपाल भ्रमण वर्ष २०२०: सय गन्तव्यमा २५ लाखका दरले खर्च गर्दै सरकार

५ बर्ष अगाडि

काठमाडौं – सरकारले सन् २०२० का लागि नेपाल भ्रमण घोषणा गरी प्रचार प्रसार अभियानलाई अगाडि बढाएको छ । भ्रमण वर्षका लागि १०० नयाँ गन्तव्य समेत निर्धारण गरेको छ । निर्धारित भएका गन्तव्यलाई प्रचार प्रसार र आवश्इक भौतिक संरचनाको निर्माणका लागि प्रत्येक गन्तव्यमा २५ लाख रुपैयाँका दरले खर्च गर्ने योजना अगाडि सारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्त्वयको विस्तारका लागि रकम विनियोजन गरेको हो ।

हरेक गन्तव्यमा ५० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको भएपनि पहिलो चरणमा २५ लाख रुपैयाँ खर्च गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दीर्घकालीन पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ गन्तव्यको विकासका लागि रकम खर्च गर्न लागिएको बताए ।

उनले नेपाल भ्रमण सँगै आगामी दिनमा समेत निरन्तर पर्यटन प्रवद्र्धन गर्ने र भौतिक पूर्वाधारले क्रमशः मजबूत बनाउँदै लैजाने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताए । सरकराले चालु आवमा नयाँ गन्तव्य पहिचान तथा विकासका लागि भन्दै बजेटमा नै ५० करोड बजेट विनियोजन गरेको छ ।

यस्तै नेपाल टुरिजम बोर्ड तथा निजी क्षेत्रले समेत आवश्यक खर्च गर्ने तयारी गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत प्रभावकारी तवरले काम गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र हुन सक्छ र वैदेशिक मुद्रा भित्र्याउने प्रमुख आधार समेत पर्यटन नै हुन सक्ने लक्ष्यलाई केन्द्रमा राखेर काम अगाडि बढाइएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा उद्योगपति सुरज वैद्यलाई यसअघि नै नियुक्त गरिसकेको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्ने र त्यसको संयोजन पर्यटन बोर्डले गर्ने छ । सरकारले आवश्यक साधन र स्रोत उपलब्ध गराउनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया