धार्मिक पर्यटकीय क्षेत्र बन्दै गोदावरी धाम

५ बर्ष अगाडि

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । 

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेलाको शुरुआत गरिएसँगै यो क्षेत्र प्रमुख धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास हुन थालेको हो । 

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्छ भन्ने शास्त्रीय मान्यताअनुसार प्रत्येक वर्ष मकर सङ्क्रान्तिका अवसरमा खगोल शास्त्रीय विधिमा आधारित भई कुम्भ मेलाको प्रतीकका रूपमा बाह्रराशि दर्शन मेलाको आयोजना गर्ने गरिएको धामका अध्यक्ष एवं साहित्यकार पद्मराज जोशीले बताउनुभयो । 

‘‘वैदिक संस्कृतिमा आक्रमण बढ्दै गएको अवस्थामा यसको पुनर्जागरणको प्रयासस्वरूप यो अभियान थालिएको हो”, जोशीले भन्नुभयो, “यस्तो अभियानले धार्मिक पर्यटनको प्रवद्र्धन गरेर रोजगारीका अवसर पनि सिर्जना गर्न सकिन्छ ।” 

गोदावरीलाई सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनका लागि आधार शिविर बनाउने प्रयास गरिएको जोशीले थप्नुभयो । बाह्रराशि दर्शन मकर मेलाको समयमा गोदावरी धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाउने गरिएको छ । 

यस्तै त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गर्न लागिएको छ । “बाह्रराशि दर्शन मकर मेलामा इच्छुक व्यक्तिले आफ्नो राशि र नक्षत्रको दर्शन, पूजा गर्न पाउने छन्”, आयोजक समितिका प्रवक्ता मदनराज पाण्डेयले भन्नुभयो, “आफ्नो ग्रह गोचरको कूप्रभावबाट स्वस्थ रहन ग्रह पूजन, जप, लक्षहोम तर्पणजस्ता अनुष्ठानसहित योग ध्यान पनि गर्नसक्ने व्यवस्था मिलाउन लागिएको छ ।” चार वर्षअघि यो क्षेत्रमा एक महीने ‘सहस्र कुम्भ दर्शन मेला’ आयोजना गरिएको थियो । 

“गोदावरीलाई यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने प्रयास भइरहेको छ”, बाह्रराशि दर्शन मकर मेलाका प्रचारप्रसार समितिका संयोजक पत्रकार गोविन्द रोस्याराले भन्नुभयो, “गोदावरीको मुख्य क्षेत्रसहित आसपासको हनुमानको मूर्ति र वनदेवी मन्दिर परिसरसमेतका क्षेत्रलाई समेटेर एउटै विकास समितिभित्र ल्याएर काम गर्न सकिए गोदावरी धार्मिक पर्यटनको प्रमुख गन्तव्य हुने देखिएको छ ।” 

सुदूरपश्चिम प्रदेशसभाको बैठकले यही गोदावरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरिसकेको छ । “चार वर्षअघि गरिएको कुम्भ मेलाको प्रभावस्वरूप गोदावरीलाई प्रदेशको राजधानी तोक्न मद्दत पु¥याएको हो”, रोस्याराले थप्नुभयो, “स्थायी राजधानी बनाउँदा चुरे क्षेत्रको संरक्षणको सवालमा भने गम्भीर बन्न जरुरी छ ।” 

समितिको पहलमा धर्म संस्कृतिको संरक्षणको प्रयासस्वरूप सो क्षेत्रमा गत वर्ष स्थापना गरिएको गुरुकूल विद्यापीठमा वेद र संस्कृत पठनपाठन सञ्चालनमा आएको छ । सो क्षेत्रमा १००८ शिवलिङ्ग स्थापना र कैवल्यनाथ मन्दिर निर्माण गर्ने योजना रहेको छ । पर्यटकलाई लक्षित गरी उक्त क्षेत्रमा आधुनिक होटेल रिसोर्टलगायतका संरचना निर्माण हुन थालेका छन् । 

यो क्षेत्रमा पश्चिम नेपालकै सबैभन्दा अग्लो ५१ फिटको हनुमानको मूर्ति रहेको छ । यस वर्ष लाग्ने बाह्रराशि दर्शन मकर मेलाको तयारीका लागि एक मूल व्यवस्थापन समितिअन्तर्गत विभिन्न व्यवस्थापन समिति गठन गरिएको छ । 

आयोजक गोदावरी धाम विकास समितिले यही पुस ३० देखि माघ १२ गतेसम्म बाह्रराशि दर्शन मकर मेलाको आयोजना गर्ने भइरहेको तयारीबारे जानकारी दिएको छ । धनगढीदेखि करीब २० किमी उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्रमा गोदावरी नदी, छेउमा मठ मन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । मकर सङ्क्रान्तिका दिन यो क्षेत्रमा सदियौँदेखि मेला पनि लाग्ने गरेको छ । 

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीरूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया