नेकपाको संसदीय दलको कार्यालय अब एकै ठाँउमा

५ बर्ष अगाडि

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ । 
नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए । 

नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ । पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ्ग र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाको दलका नेता दिनानाथ शर्माको कार्यकक्ष हालसम्म पूर्व माओवादीकै संसदीय दलको कार्यालयमा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया