(Monday, 17 June, 2019)
By: आजको अर्थ
पुस २६, २०७५

काठमाडौँ –  पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो ।

केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए ।

योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो , उनले भने, शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए । गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ  उनले भने ।

स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ ।

फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत