बीमा समितिको निर्देशन विरुद्ध उत्रिए बीमा कम्पनी

२ बर्ष अगाडि

काठमाडौं - स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन बीमा समितिले दिएको निर्देशन विरुद्धमा बीमा कम्पनीहरु उत्रिएका छन् । 

उनीहरुले अन्तराष्ट्रिय मान्यता विपरित स्वदेशी पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गराउन दिएको समितिको निर्देशन सञ्चाउन माग गरेका हुन् ।

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन जीवन बीमक संघ र निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको आइतबार बसेको बैठकले स्वदेशी पुर्नबीमा कम्पनीलाई मात्रै पुनर्बीमा गर्न दिने समितिको निर्णय सच्चाउन माग गरेका हुन् । 

उनीहरुले बीमा कम्पनीको नियामक निकाय बीमा समितिलाई त्यस्तो निर्णय पुनरावलोकन गर्नका लागि पत्र पठाउने तयारी गरेका छन् । उनीहरुले बीमा समितिले स्वदेशी कम्पनीमा नै अनिवार्य रुपमा पुनर्बीमा गर्न निर्देशन दिनु उचित नभएको तर्क गर्दै आएका छन् ।

गत बिहीबार बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरी शतप्रतिशत पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएको थियो । समितिले नेपाली पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।

यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया