(Wednesday, 24 April, 2019)
By: आजको अर्थ
माघ १०, २०७५

नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोली प्रचारकै क्रममा बुधबार पोखरा आईपुग्यो । यो टोलीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म उत्कृष्ट बनेको भन्दै हलमा पुगेर हेरिदिन दर्शकसमक्ष आह्वान गर्यो । 

आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभकै कथामा बनेको यो फिल्मलाई आफूले सकेसम्म न्याय दिने प्रयास गरेको यसका निर्देशकले बताए । यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यसअघि उनले नाई नभन्नु ल को सिरिज अन्तरगत एउटा फिल्म निर्देशन गरिसकेका छन् । 

‘मलाई थाहा छ नेपालमा आख्यानमाथि बनेको फिल्म राम्रो चलेका छैनन् । अझै भनौँ पुस्तकलाई न्याय गर्ने गरि पनि बनेका छैनन् ।’ पत्रकार सम्मेलनमा निर्देशक ढकालले भने–‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’ उपन्यासको कुनै पात्र अथवा परिवेशलाई फिल्ममा तोडमोड नगरिएको पनि उनले प्रस्ट पारे । 

फिल्म करिब साढे २ करोड रुपैयाँ लगानीमा निर्माण भएको यसको निर्माण यूनिटले जनाएको छ । नेपालसँगै सिंगापुर, नर्वे लगाएतका मुलुकमा पनि यो फिल्मको छायाँकन भएको छ । फिल्ममा अतित शर्माको भुमिकामा अभिनेता आशिष पिया देखिएका छन् भने सायाको भुमिकामा रेवती क्षेत्री देखिएकी छन् । 

बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा अतितको भुमिकालाई आफुले सक्दो न्याय गर्ने प्रयत्न गरेको आशिषले बताए । ‘सबै पाठकको दिमागमा बसिसकेको अतितको चरित्रलाई न्याय गर्ने कुरा निकै गाह«ो कुरा हो । यद्यपी मेरो प्रयासले यहाँहरुलाई निराश बनाउनेछैन ।’ आशिषले भने । त्यस्तै अभिनेत्री रेवती क्षेत्रीले सायाको रुपमा आफूलाई दर्शकहरुले रुचाउने बताईन् । 

फिल्मलाई खगेन्द्र श्रेष्ठ,ईन्दु भण्डारी, स्वप्न सरकार, मनोज बिक, एकराज तामाङले मिलेर बनाएका हुन् । यो फिल्मको कार्यकारी निर्मातामा बिनोद अधिकारी रहेका छन् । फिल्ममा पुष्पन प्रधानले संगीत दिएका हुन् भने सञ्जय लामा र मानकृष्ण महर्जनले मिलेर यो फिल्म खिचेका हुन् ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत