छब्बीस जनामा डेङ्गु देखियो

५ बर्ष अगाडि


चितवन – जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन् । अन्य छिमेकी जिल्लाको रहेको उहाँले बताउनुभयो । मुख्यरुपमा साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण हुने गर्दछ । गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो । जसमध्ये ३२ चितवनका रहेको केसीले बताउनुभयो ।

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो । आठ वर्षअघि जिल्लामा डेङ्गु सङ्क्रमणका रुपमा फैलिएको थियो । केसीका अनुसार सन् २०१० मा ७३९ मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । जसमध्ये पाँचको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा क्रमश सङ्क्रमण घट्दै आएको छ ।

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ ।

क्यान्सर अस्पतालमा होमाटो विभाग विस्तार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले रक्त क्यान्सर भएका बिरामीलाई राख्ने (होमाटो) अङ्कोलोजी विभागको सेवा विस्तार गरेको छ । १२ श्यया सञ्चालनमा रहेको सो विभागमा २७ श्यया थप गरी सुविधासमेत बढाएको हो ।

अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउनका लागि विभागको सेवा विस्तार गरिएको अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताउनुभयो । सो विभागमा १७ वटा सामान्य श्यया रहेका छन् भने १० वटा क्याबिन रहेको छ । विभागमा बिरामीको सङ्क्रमण कम गर्नका लागि विशेष व्यवस्था गरिएको छ ।

हेमाटो अङ्कोलोजी विभागमा पाँच विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र १४ स्टाप नर्स कार्यरत रहेका छन् । चीन सरकारले निर्माण गरिदिएको सो अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा छन् । नेपाल र भारतबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया