यस साता नेप्से ११ अंकले घट्यो, बजार पूँजीकरण १३ अर्ब घटेर ३१ खर्ब ६६ अर्बमा सीमित

१ बर्ष अगाडि

काठमाडौं- यस साता नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ११ अंक घटेर बन्द भएको छ। गत साता २२३५.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ११.३१ अंक घटेर २२२३(.७८ विन्दुमा बन्द भएको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार घट्दा नेप्सेले यस साता समग्रमा सो बराबरको अंक गुमाएको हो। यस साता सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ।

नेप्सेसँगै, यस साता दैनिक औषत कारोबार रकम, कारोबार संख्या, शेयर संख्या पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता १ अर्ब १४ करोडको मात्र शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साता कारोबार रकम १२.५० प्रतिशत घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या १२.५६ प्रतिशत घटेको छ भने दैनिक शेयर संख्या १.०१ प्रतिशत घटेको छ। गत साता दैनिक औषतमा २२६ स्टकको कारोबार भएको बजारमा यस साता २२४ स्टकको शेयर कारोबार भएको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको तुलनामा यस साता कुल बजार पूँजीकरण १३ अर्ब घटेर ३१ खर्ब ६६ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० वटाको घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक अरु उपसमूहको तुलनामा बढी बढेको छ। गत साता १५४३.७८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ०।३३ प्रतिशत बढेर १५४८.८७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ८.५७ प्रतिशत बढेको छ।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.१४ प्रतिशत घटेको छ। अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३१.५६ अंक घटेको छ।

यस साता ६ कम्पनीको कुल २ करोड २५ लाख ३३ हजार ८२९.१६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमध्ये २ कम्पनीको आईपीओ रहेको छ भने तीन कम्पनीको बोनस शेयर रहेको छ। बाँकी १ कम्पनीको भने यस साता हकप्रद शेयर सूचीकृत भएको हो।

यस साता कम्पनीहरुको शेयरमूल्य उतारचढाव न्युन रहेको छ। शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीमा यस साता नारायणी डेभलपमेन्ट बैंक रहेको छ भने सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। नारायणीको शेयरमूल्य यस साता १५.०७ प्रतिशत बढेको छ भने कर्पोरेटको १७.२० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कालिका लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मेगा बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यस्तै, नागरिक लगानी कोष, खानीखोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

१ बर्ष अगाडि

प्रतिक्रिया