विधेयकलाई विवादको विषय बनाउनु हुँदैन : सभामुख

५ बर्ष अगाडि

दाङ – सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताउनुभएको छ । दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राख्नुभयो । 

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको उहाँको भनाइ थियो । सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गर्नुभयो । 

फरक प्रसङ्गमा सभामुख महराले कर्मचारीकै कारण दाङको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाइ भएको बताउनुभयो । “अस्थायी इन्धन डिपो स्थापना गर्ने विषयमा आयल निगमलाई आपूर्ति मन्त्री र सचिवले तोक लगाइसक्नु भएपनि कर्मचारीले त्यसलाई कार्यान्वयनमा नल्याएका कारण ढिलाइ भएको हो” उहाँले भन्नुभयो, “अब इन्धन डिपो तत्कालै स्थापना हुन्छ ।” विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रक्रिया पनि अघि बढिसकेको र छिटै नै भवन निर्माणको काम शुरु हुने उहाँको भनाइ छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया