दिइएको समयसीमामा कर्जा असुली नहुने

१ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा अभिकर्ताहरुलाई बिना धितो उपलब्ध गराइएको कर्जा असुली गर्न बीमा समितिले दिएको समयसीमामा कर्जा असुली नहुने भएको छ । 

बीमा समितिले सवारीसाधन, ल्यापटप वा घरायसी प्रयोजनको विद्युतीय उपकरण खरिद गर्न दिएको बाहेक जीवन बीमा अभिकर्ताहरुलाई उपलब्ध गराइएको नगद कर्जा र घरजग्गा कर्जा २०७९ असार मसान्तभित्र असुलउपर गर्न निर्देशन दिइ सकेको छ ।

२०७८ असारभित्रै असुल उपर गर्नको लागी निर्देशन दिएकोमा जीवन बीमा अभिकर्ता संघको विरोधपछि समितिले कार्यतालिका बनाएर असुलउपर गर्नको लागी सम्बन्धित जीवन बीमा कम्पनीहरुलाई जिम्मा दिएको थियो । तर अझैसम्म पनि असुलीमा अपेक्षित प्रगति हुन नसकेपछि समितिले दोश्रो पटक निर्देशन जारी गरेको छ ।

जीवन बीमा कम्पनीहरुले बीमालेख बिक्री गर्दा प्राप्त हुने कमिशनवापतको रकमबाट किस्ताबन्दीमा साँवा तथा ब्याज चुक्ता गर्ने शर्तमा अभिकर्तालाई कर्जा दिएका हुन् । आर्थिक वर्ष २०७७।७८ मा मात्र जीवन बीमा कम्पनीले अभिकर्ता कर्जावापत कूल ३ अर्ब ४० करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

बीमा समितिले अभिकर्ता कर्जा शीर्षकमा बिना धितो सुरक्षण प्रवाह गरिएको कर्जाका कारण जीवन बीमा कम्पनीको ठूलो लगानी जोखिममा परेको विश्लेषणसहित सबै प्रकारका कर्जामा रोक लगाइ दिएको थियो । 

तर अभिकर्ताहरुको संगठित विरोधपछि घरजग्गा र नगद कर्जा बाहेक सवारी साधन लगायत अन्य कर्जा दिन सकिने व्यवस्था गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया