दोगडाकेदारमा मोबाइल एप्स

५ बर्ष अगाडि

बैतडी – आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसैबीच गाउँपालिकाले दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरेको छ । गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा नं ५ स्थित न्वाली मावि दोलीमा मङ्गलबार सरसफाइका सामग्री वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साबुन, कोलगेटदेखि लिएर कक्षा ८ सम्म छात्रालाई सेनेटरी प्याडसमेत वितरण गरिएको न्वाली स्वास्थ्यचौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिनुभयो । 

विद्यालयमा फोहर व्यवस्थापनका लागि ‘डस्टबिन’, फोहर जलाउने ‘कन्टेनर’, पानी शुद्धीकरणका लागि फिल्टर लगायतका सामग्री वितरण गरिएको छ । नमूनाको रूपमा यो वर्ष गाउँपालिकाका दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरिएका र अन्य विद्यालयमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ । 

सरसफाइ सामग्री वितरणका साथसाथै सचेतानमूलक कक्षा समेत सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया