कृषि कर्जाको ब्याजदर बढ्न सक्ने

६ बर्ष अगाडि

काठमाडौँ- व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको व्याजदर बढ्ने देखिएको छ । राष्ट्र बैंकले कृषि कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधार दर(बेसरेट)मा आधारित भएर निर्धारण गर्न सकिने व्यवस्था गरेसँगै कृषि तथा पशुपक्षी कर्जाको ब्याजदर बढ्ने देखिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा बढीमा १० प्रतिशत मात्रै ब्याज लिन सक्ने व्यवस्था रहेको थियो । ‘व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि, २०७३’ अनुसार बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारले उपलब्ध गराउने ५ प्रतिशत अनुदानबाहेक बढीमा ५ प्रतिशत मात्रै ब्याज लिने पाउने व्यवस्था गरेको थियो ।

तर, राष्ट्र बैंकले उक्त कार्यविधिलाई संशोधन गर्दै अब बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा आधारित भएर ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । अहिले वाणिज्य बैंकहरूको सरदर आधार दर (बेसरेट) १०.०७ प्रतिशत रहेको छ, 

कृषि विकास बैंकको आधार दर सबैभन्दा बढी ११.५३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा कम ५.८० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूले आफ्नो आधार दरमा नाफा जोडेर ब्याजदर निर्धारण गर्दा कृषि तथा पशुपक्षी कर्जाको ब्याज बढ्न सक्ने सरोकारवालाले बताएका छन् ।

अहिलेको अवस्थामा बेसरेटको आधारमा ब्याजदर निर्धारण गर्दा कृषिको ब्याज १६–१७ प्रतिशत भन्दा हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्योग केन्द्रका कार्यकारी प्रमुख प्रदीप महर्जनले बताए । यसले व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्ने सरकारी नीतिमै प्रभाव पार्ने उनको भनाइ छ ।

नयाँ पत्रिकामा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया