डाक्टर बन्ने सपना बुनेकी केकी कसरी बनिन् एक्टर ?

६ बर्ष अगाडि

सपना आ–आफ्नै हुन्छन् । रहर फरक हुन्छन् । केही गर्ने, केही बन्ने सोच हरेकको हुन्छ । कतिपय सपना हामी आफैँ देख्छौँ । कतिपय समय र परिवेशले देखाउँछ । अथवा, देख्न बाध्य बनाउँछ । मोडल, अभिनेत्री हुँदै निर्मात्रीको भूमिकामा समेत उभिएकी केकी अधिकारीको पनि एउटा सपना थिया, आफैँले देखेको । सानैदेखि पढाइमा अब्बल केकीको डाक्टर बन्ने सपना स्वाभाविक थियो । र, उनी त्यसमा उत्तिकै अडिग पनि थिइन् । ‘सानैदेखि डाक्टर बन्छु भन्ने सपना सजाएकी थिएँ,’ केकी भन्छिन्, ‘सबै कुरा सोचे/चाहेजस्तो नहुँदो रहेछ । मलाई नै थाहा छैन, कसरी मेरो सपना मोडियो भन्ने!’

स्कुलमा नृत्य र नाट्यकलामा सहभागी हुँदा पनि केकीले फिल्म खेल्ने सपना कहिल्यै देखेकी थिइनन् । एसएलसीमा ८६ प्रतिशत अंक ल्याएपछि त झन् उनका बुबाले पनि छोरीको भविष्यको एउटा आकार देखिसकेका थिए । डाक्टर बन्छे भन्ने । र, त्यही अनुसार साइन्स विषय लिएर उनी कलेज भर्ना भइन् । ‘प्लस टु’को परीक्षा दिएपछि उनले एमबिबिएसको तयारी कक्षासमेत लिइन् । यतिवेलासम्म उनी आफ्नो सपनाको सपाट आकार बनाउन दृढ थिइन् । भविष्यमा डाक्टर बन्ने सपना !


भाग्यमा भरोसा गर्नेहरू भन्छन् नि ‘जसको भाग्यमा जे लेखिएको हुन्छ, त्यही हुने हो ।’ केकीको जीवनमा पनि त्यस्तै भयो । त्यसैले त डाक्टर बन्ने सपना बुनेकी उनी ‘रियालिटी सो’मा भाग लिन पुगिन् । तर, उनले नृत्यसम्बन्धी कुनै तालिम भने लिएकी थिइनन् । सम्झिन्, ‘टिभीमा डान्स हेरेकै भरमा मैले सो रियालिटी सोमा भाग लिएकी थिएँ । कुनै उपाधि चुम्नुभन्दा पनि दिउँसोको खाली समय सदुपयोग गर्छु भनेर परिवारको स्वीकृतिमा भाग लिएकी हुँ ।’ केकी प्रतियोगितामा द्वितीय भइन् । त्यही सो उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

चिटिक्क परेको शरीर, मीठो बोली, नसालु आँखा । त्यसमाथि मन्द मुस्कानकी धनी केकी । बौद्धिकताले तीक्ष्ण थिइन्, केकी । त्यसैले त रियालिटी सोका क्रममा टिभीमा देखेकै भरमा उनलाई एउटा अफर आयो– एड एजेन्सीबाट । उनले ‘क्लोज अप’को प्रमोसनका लागि काम गर्नुपर्ने थियो । ‘डिल ओके’ गरिन् । त्यसपछि बदलियो, उनको सपना । फेरियो, इच्छाएको बाटो । भन्छिन्, ‘त्यसपछि म एमबिबिएसको परीक्षा दिन गइनँ र विषय परिवर्तन गरेर बिआइएम (म्यानेजमेन्ट)मा भर्ना भएँ ।’ उनी यसलाई भाग्यको खेल भन्न रुचाउँछिन् । ‘भाग्यमा जे लेखेको छ, त्यही भन्छन् नि !मेरो जीवनमा पनि त्यस्तै भयो,’ उनले भनिन् ।

सुरुवाती दिनमा पनि केकीलाई क्यामेरासँग कहिल्यै डर लागेन । न मान्छेदेखि लाज नै लाग्यो । न कामप्रति झन्झट अनुभव भयो । हरेक कुरालाई आत्मविश्वासका साथ ‘फेस’ गर्न सक्थिन्, उनी । निकै आँटिली । त्यसैले त उनका अगाडि अवसर पनि त्यत्तिकै थिए । यसरी नै उनको मोडलिङ यात्रा सुरु भयो । र, उनले मोडलिङ गरेको पहिलो गीत ‘वनमा फुल्यो फूल’ एकाएक हिट भयो । गीत हिट अर्थात् केकी पनि हिट ।

अब उनलाई यो क्षेत्र प्रिय लाग्न थाल्यो । कलाकारितामा रस बस्यो । मोह जाग्यो । यसैमा भिज्ने, रमाउने इच्छा जाग्यो । ‘पहिलो गीत फ्लप भइदिएको भए के हुन्थ्यो मलाई थाहा छैन । मोडलिङ क्षेत्रमा पहिलो पाइलामै सफलता पाएकाले ममा थप उत्साह जाग्यो,’ उनले उत्साहित हुँदै त्यो दिन स्मरण गरिन् । एक वर्ष त उनी म्युजिक भिडियोमै रमाइन् । करिब ३० वटा म्युजिक भिडियोमा अभिनय गरिन् ।

त्यसपछि केकीका लागि फिल्मको ढोका खुल्यो । उनको अभिनय क्षमताबाट प्रभावित भएका निर्देशक प्रसन्न पौडेलले जुराइदिए, पहिलो अवसर । र, उनले ‘स्वर’ फिल्ममार्फत नेपाली सिनेजगत्मा डेब्यु गरिन् । नायिकाका रूपमा परिचयको ढोका उघारिन् । जिन्दगीमा अभिनेत्री बन्छु भन्ने उनले कल्पनासमेत गरेकी थिइनन्, तर भइन् । योसँगै उनको डाक्टर बन्ने सपना अभिनेत्रीमा परिणत भयो – १७ वर्षकै उमेरमा ।


‘पहिलो फिल्मपछि म यस क्षेत्रमा झन् रमाउन थालेँ, लाग्यो जिन्दगीमा म खुसी हुन सक्ने फिल्ड नै यही हो,’ केकी भन्छिन्, ‘अनि आफूलाई यस क्षेत्रमै डेडिकेटेड बनाउँदै लगेँ ।’ त्यसपछि केकीको पाइला किन रोकिन्थ्यो र ? सुरुवाती दिनमै त्यसवेला चलेका नायक आर्यन सिग्देलसँग ‘आइ एम सरी’मा काम गर्ने अवसर पाइन्, उनले । त्यस दिनदेखि कहिल्यै फर्केर पछाडि हेर्नुपरेन, केकीले । उनका फिल्म हिट नभए पनि फ्लप पनि भएनन् । केकी भने हिट हुँदै गइन् । फिल्मी क्षेत्रमा उनको क्रेज बढ्दै गयो । यहाँसम्म आइपुग्दा स्थापित अभिनेत्रीका रूपमा उनले आफ्नो परिचय बनाइसकेकी छिन् ।

केकी म्युजिक भिडियो र फिल्ममा सफल भएको धेरैले देखेका छन् । तर, त्यति मात्र होइन, उनले आफ्नो पढाइलाई पनि निरन्तर अघि बढाएकी छिन् । केकीले एमबिए पास गरिसकिन् । सबै कुरालाई एकसाथ कसरी म्यानेज गर्छिन् त उनी ? भन्छिन्, ‘समयको सही ढंगले व्यवस्थापन गर्न सक्ने हो भने हामी हरेक कुरामा सफल हुन सक्छौँ ।’ कतिपय अवस्थामा त उनले सुटिङको ब्रेक टाइममा पनि आफ्नो असाइमेन्ट गरेकी छिन् । तर, समय सधैँ एकनासको कहाँ हुन्छ र ! बिहान ५ बजेसम्म सुटिङ गरेर परीक्षा दिन गएको अनुभव पनि छ, उनीसँग ।

‘स्वर’ देखि ‘घामपानी’सम्म आइपुग्दा केकीका फिल्म त्यति हिट भएनन् । घामपानी उनको पहिलो हिट फिल्म थियो । जसले करोड क्रस व्यापार गर्‍यो । हिट केकीका फिल्मचाहिँ किन हिट हुन नसकेका होलान् त ? ‘मैले आफूले सकेको गर्ने हो । मलाई लाग्छ, सबै फिल्ममा सकेको गरेकी छु, जानेको क्षमता देखाएकी छु,’ भन्छिन्, ‘एउटा फिल्म हिट बनाउन मेरो मात्र हात रहँदैन । फिल्म नचल्नुको दोष कलाकारलाई मात्रै दिनु सायद मूर्खता हो । जस, अपजस सबै टिम वर्करलाई जानुपर्छ ।’ घामपानीपछि उनको ऐश्वर्या चलचित्रले पनि राम्रै कलेक्सन गर्‍यो । ‘ब्लक बस्टर’ होस् भन्ने मनसाय राखेर आफूले कहिल्यै फिल्म नखेलेको केकी बताउँछिन् । त्यसो त मसान, लाभ सासा, राज्जारानी, फन्को, हाउ फन्नी, आइ एम सरी फिल्मबाट उनी राम्रै चर्चा बटुल्न सफल भइन् ।

यतिवेला उनी अभिनेत्रीबाट निर्मात्रीसमेत भइसकेकी छिन् । उनको फिल्म ‘कोहलपुर एक्सप्रेस’ नयाँ वर्षमा आउने भएको छ । फिल्मको ‘सिओडब्लू काउ’ बोलको गीतले राम्रै चर्चा बटुलिसकेको छ । गीतको चर्चासँगै फिल्मलाई लिएर उनी निकै सिरियस छिन् । अभिनेत्रीका रूपमा कमाएको लोकप्रियता निर्मात्री बनेर डुब्ला कि भन्ने डर लाग्दैन त उनलाई ? ‘१० वर्षसम्म यस क्षेत्रमा रहेर मैले बुझेको, भोगेको कुराबाट सिकेर नयाँ यात्रा तय गरेकी हुँ । त्यसैले आफ्नो बेस्ट दिने प्रयास गरेकी छु,’ केकी भन्छिन्, ‘इट्स टाइम टु गिभ ब्याक । आशा छ, सधैँझँै दर्शकले मलाई माया दिइरहनुहुनेछ । मैले पनि उहाँहरूलाई निरास बनाउने खालको फिल्म बनाएकी छुजस्तो लाग्दैन ।’


निर्मात्रीका रूपमा उभिँदा केकीले अलि भिन्दै खालको अनुभव सँगालेकी छिन् । खेल्न जति सजिलो फिल्म बनाउन छैन भन्ने उनले बुझिसकिन् । तर, उनको सपना यति मात्र होइन । भन्छिन्, ‘कोहलपुर एक्सप्रेस’ सुरुवात मात्र हो, अन्त्य होइन ।’ अन्त्यचाहिँ केबाट गर्न चाहन्छिन् त उनी ? ‘मानिस कहिल्यै कुनै पनि कुराले सन्तुष्ट हुँदैन । म पनि त्यही मान्छे हुँ । यसलाई म पोजेटिभ रूपमा लिन्छु । किनकि असन्तुष्टिले केही गरेकोगर्‍यै गर्ने ऊर्जा थप्छ,’ २८ वर्षकी केकी भन्छिन्, ‘मलाई लाग्छ, म सधैँभरि असन्तुष्ट नै भइरहूँ ।’
-नयाँ पत्रिकाबाट 

६ बर्ष अगाडि

प्रतिक्रिया