ओले गनर सोल्स्कसायरले प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक अवार्ड जिते

५ बर्ष अगाडि


काठमाडौँ – म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका ओले गनर सोल्स्कसायरले प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका छन् ।

प्रिमियर लिग आयोजकले शुक्रबार राति ओलेलाई जनवरी महिनाको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरेको हो । ओलेसँगै युनाइटेडकै स्ट्राइकर मार्कुस रास्फोर्डले प्लेयर अफ दी मन्थ अवार्ड जितेका छन् । रास्फोर्डले जनवरीमा ६ खेल खेल्दै तीन  गोल गरेका थिए ।

चर्चित प्रशिक्षक जोसे मोउरिन्होले लिगमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै युनाइटेडले मोउरिन्होलाई बर्खास्त गरेपछि ओलेले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए । ४५ बर्षीय ओलेको प्रशिक्षणपछि युनाइटेडले खेलेका १० खेलमा नौ जित हात पारेको छ । युनाइटेड लिगमा अहिले पाचौं स्थानमा छ ।

ओले म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनपछि यो उपाधि हासिल गर्ने पहिलो प्रशिक्षक पनि बनेका छन् । यसअघि सन् २०१२ मा फर्गुसनले यस उपाधि जितेका थिए । जनवरी महिनाको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा हओलेले बर्नलीका सन डाइस र साउथह्याम्पटनका राल्फ हासनहटललाई पछाडि पारे ।

५ बर्ष अगाडि

प्रतिक्रिया