(Friday, 26 April, 2019)
By: आजको अर्थ
माघ २६, २०७५

–हर्कसिँ केसी

मेरा जिन्दगीका प्यारा भरोसाहरु !!

समुन्द्रपारिबाट असीम सम्झना । भौगोलिक दुरिले जति विकट भए पनि आत्मीयताको निकट दुरिबाट मुटु भरिको माया !

थाहा छैन मलाई, कसरी अभिव्यक्त गरिन्छ माया ।मुटुको असिम गहिराइमा लुकेको भावना नै प्रेम हो भने म त्यतै डुबुल्की मारेर अभिब्यक्त गर्दैछु।

मैले यो विदेशी भूमि (कर्मभूमी) मा रहनुपर्ने बाध्यतालेतिमीहरुले चाहे जस्तो स्पर्शीय माया र स्नेह त दिन सकेको छैनसायद।तर हरपलतिमीहरूको जीवनको खुशीसहितको सुन्दर संसारको अमापनीय कल्पनामा डुबिरहन्छु।त्यो कल्पना जहाँ आमा बुबाको भरपुर स्नेह होस्,आफैलाईभन्दा बढी प्यार गर्ने जीवनसाथी होस्,भरपुर साथ र हात दिने मित्रहरू होउन्,गर्वको साथ आफन्त चिन्ने आफन्तजन होउन्,तिमी सच्चा र इमानदार देशभक्त हौ भनेर राष्ट्रले गर्व गरोस् । तिम्रो शिर विश्वको कुनै कुनामा गएपनि नेपाली हुँ भन्ने पहिचानका साथ गर्वले उच्च रहोस् ! तिमी एक सफल र असल मानिस बन !सायद हरेक आमाबुवाले जस्तै तिम्रो सुन्दर भविष्यको सपना देख्छु म ।

तिमीसँग भेट नभएको पनि  वर्षौं भैसकेको छ।  तिमीलाई मैले बालखैमा  छोडेर विदेशिएको थिएँ।अहिले त यौवन अवस्थामा प्रवेश गरिसक्यौ र पनि मेरो मानसपटलमा उही उनीको झोला बोकेर लुखुरलुखुर स्कूल गएको पाँचछ वर्से चुलबुले बच्चा नै देख्दछु। टाढा छु,सामाजिक सञ्जालमा दिन नबिराई तिमीले राखेका फोटो र मेसेन्जरबाट तिम्रो समीप पुग्छु । त्यो पनि उपलब्ध नहुँदा फोनकोसहाराले तिमीलाई भेट्छु।लाग्छ, अंगालोमा बेरौँ र आम्नसाम्ने भई वह पौखौँर गह भरिएको देखाऊँ । यथार्थले झकझकाउँदै भन्छतँ त तेरै सन्ततिहरुको सपनाहरु पूरा गर्न विदेशिएको पो होस् त, अनि आफूले आफैलाई सम्हाल्छु । तिम्रो माया साट्ने विकल्प सिरानी बनिदिन्छ र त्यसैलाई अंगालोमा बेरेर  तिम्रो सुन्दर सपनाहरू बुन्न थाल्छु। कतिखेर उज्यालो हुन्छ कुनै दिन त पत्ता पनि लाग्दैन ।हतारहतार मालिकले तोकिदिएको काममा पुग्छु।

मेरो जीवनमा विदेशी भूमिको यो संघर्ष लेखिएको भए पनि सायद मेरा सन्ततीले आफ्नो जीवनमा यस्तो दुखको कहानी लेख्नुपर्ने छैन,उनीहरुको सुखमय सुनौलो संसार हुनेछ भनी मनलाई थामथुम पार्छु ।म चाहन्न तिमीहरु विदेशी भूमिमा रगत र पसिना बगाऊ।प्रवासमा गएर आफ्नो स्वाभिमान बन्धक राखेर परिवारको गासबास धान।

परदेशिनु कुनै नराम्रो कुरा हैन। तरस्वाभिमानका साथ, गौरवका साथ,कुनै पनि परदेशी भूभिमा जाउ तर आफ्नो योग्यता दक्षता र सीपको डिग्री लिएर।अस्तित्व र स्वाभिमानको ओजस्वी लक्ष लिएर गर्वको साथ काम गर। हो म त्यो चाहान्छु।अनि सम्हाल्छु आफ्नो मनभित्रको उकुसमुकुसलाई। कठोर बनाउछु मेरो मुटुलाई। दरिला बनाउछु पाखुरीहरुलाई।थिलोथिलो भैसकेको शरिरले पनि उठाउन थाल्छ जब्बर वजनहरु। सिर्फ तिम्रो सपना पूरा गर्ने अभिष्टका लागि ।

तिमीहरु अबोध बालापन मै थियौ मैले तिमीहरुलाई छोडेर परदेश आउँदा। उसबेला तिम्रो त्यो बाल मनोबिज्ञानमा असर पर्ला भन्ने सोचीतिमीहरुलाई भन्नैपर्ने कुरा पनि भन्न सक्दिनथेँ ।तर आज यौवन अबस्थामा प्रवेश गरिसकेकाछौ ।सन्तान ठूलो भए त साथीको व्यबहार गर्नु पर्छ भन्ने कुरा सुनेको थिएँ ।आज तिमीलाई यथार्थता अवगत गराउँदै छु । तिम्रा सपना पूरा गर्न हरेक पल मैले गरेका यति धेरै त्याग र तपस्या खेर जाने त होइनन् भन्ने संन्देह हुन्छ।तर मलाई तिमीहरुप्रति पूरा भरोसा छ,तिमीहरु आफ्नो सपना पूरा गर्न कटिबद्ध भई लागीपरेका छौ।

 मैले त घरायसी आवश्यकता र तिम्रा सपनाहरू पूरा गर्न जिन्दगीको बाटो बदल्न बाध्य भएँ । तबसम्म तिमीहरुका हरेक सपना पूरा गर्न हरदम प्रयत्न गर्नेछु, जबसम्म मेरो जीन्दगी रहनेछ । योएक्लैले लक्ष प्राप्त गर्नसकिने खालको लक्ष होइन। यसमा तिमीहरुको पनि उत्तिकै मेहेनत र आज्ञाकारिताको खाँचो पर्छ। तिमीमा त्यसको कमी छ भन्न खोजेको हैन।तर कतै उमेरको बहकाउमा लाग्छौ कि भन्ने मेरो चिन्ता पोखेको हुँ।

यदि कतै तिमी बरालियौ  भने मेरो  जीवन दर्शन र तिम्रोआमाले दिएको संस्कारको अपमान हुनेछ।तिमीले नचाहेको कुरा गर्नु पर्छ भन्ने मेरो मनसाय पनि होइन । तर भोलि गएर तिम्रा परिवारको जिम्मेवारी लिन सक्ने एक सफल मानिस बन, मेरो चाहाना यति मात्रै हो।म चाहान्छु तिम्रा अगाडि बढने पाउहरु अस्थिर नहुन् । तिम्रा सपनाहरू देख्ने आखाहरुमा ग्रहण नलागोस् । तिमी आफै सक्षम भएको देख्न चाहान्छु।मैले न त तिमीलाई प्रत्यक्ष स्पर्श गर्न सक्छु न तिमीलाई प्रत्यक्ष सल्लाह दिन सक्छु।

यति टाढा छु ।यसैले यो पत्रको सहारा लिन पुगेँ ।मात्र तिम्रो खुशीको लागि, केवल तिम्रो सुखद भविस्यको लागि । मैले तिमीसंगै खुशी साट्न पाइन।तिमी स्कुलबाट आएपछि मकै भटमासको खाजा र भुन्टे भैँसीको दूध तिमीसंगै बसेर खाँदा कति आनन्द आउँथ्यो! तिमीलाई त उतिबेला आनन्द आयो बालापन संगै उतै बिर्स्यो ।तर मेरो आनद मनस्पटलमा अमिट भै बसिरह्यो।

हरेक बेलुका त्यहाँको चार बज्दा यहा सवा सात बज्छ। तिमी स्कुलबाट फर्किनेबेला म पनि काम बाट फर्केको हुन्छु। अनि त्यो यादले निकै सताउछ। एक दिन झकझकाएर गए हुन्थ्यो नि!? दिनकै आउँछ।जति दिन म तिमीसंग टाढा हुन्छु हरेक दिन आउछ। शनिबार तिमीसंग लुकामारी,मुसोबिरालो खेलेको मेरो कामाको मैदानमा नाचिरहन्छ।मेरा कामका औजारहरु मुसो बनेर भागिरहन्छन। अँहँ म मुसोरुपि औजार समाउनै  सक्दैन। हरपल आँसु पिएर चाडपर्वहरु बित्ने गर्छ्न् ।हरेक तिम्रा जन्मदिनमा सिरानी भिज्ने गर्छन् ।हरेक पल विदेशी भूमिमा आत्मसम्मान बिक्रि हुने गर्छ।हरेक क्षणमा तिम्रा र परिवार को मुस्कानको लागि लडिरहेको हुन्छु ।  

जानी राख्नू कि तिम्रो अगाडि र पछाडि हमेसा दुइ खाले मान्छे हुन्छ्न् ।एक दुष्ट, अर्को सज्जन।एक इमान्दार, अर्को बेइमान।एक कुरा काट्ने, अर्को माया साट्ने। एक मायाको नाटक गर्छ, अर्को आफूलाई नै समर्पित गर्छ।यी दुईखाले मान्छे पहिचान गर्न खुर्सानीको ब्यापार गर्न सिक्नु। लाक्षणिक कुरा बुझेनौहोला। सानो ब्यबहारबाट सही र गलत छुट्याउनु भन्नखोजेको हो।हरेक ब्यक्ति संग सरसल्लाह लिनु। निर्भिक र गम्भिर भएर धेरै सोचेर सही निर्णय एक्लै गर्नु।निर्णय गरिसकेपछि अरुलाई दोष कहिल्यै नदिनु।हरेक सुख-दुख परिवारमा शेयर गर्नु।एउटाको कुरा अर्कोसम्म कहिल्यै नपुर्‍याउनु । त्यो जस्तो दुश्मनी अर्को हुदैन। पिठपछि कसैको कुरा नकाट्नु बरु चित्त नबुझेको कुरा नरम तरिकाले दरिलो जबाफ दिन रत्तीपनि नडराउनु।

कोहीकोही मान्छे अरुको बदनामी नगरी खाकै नपच्ने खालका हुन्छन् । त्यस्ता मान्छे आफूलाई चोख्याएर अरुमा दोष थुपार्न माहिर हुन्छन। त्यस्तासंग प्रतिबाद गर्न खोज्नु भनेको फोहोर कोट्याउनु जस्तै हुन्छ।थाहा छ नि फोहर कोट्याएपछि आफ्नै शरिरमा फोहर उछिटिन्छ।त्यसैले त्यस्ताको आरोपको खन्डन गर्नु भन्दा चुपचाप सहेर हात्तीजस्तै लम्किनुमा फाइदा हुन्छ। ती कालान्तरमा आफै नाङ्गेझार हुन्छन् । किनकि तिनलाई अरुको कुरा काट्दा-काट्दा आफ्नोहैसियत गिरेको थाहै हुदैन।

अर्को कुरा घमण्ड कुनै कुरामा पनि नगर्नू। तर स्वाभिमान कहिल्यै नत्याग्नू। हिनताबोध कहिल्यै नगर्नू। आफ्नो कामप्रति पहिले नै सजग त हुनू तर सुरु गरिसकेपछि गर्व गर्नू।सम्पतिको फुर्ती त झन लगाउँदै नलगाउनू। यो पटमुर्खले मात्र गर्छ जसलाई जीवनको राम्रो ज्ञान हुदैन।सम्पति जीवन निर्बाहकालागि नभै नहुने चिज त हो तर यो स्थायी हुदैन।स्थायी त इमान र प्रतिष्ठा मात्र हुन्छ।बिश्वास र नैतिकता मात्र हुन्छ।बरु श्रमको सम्मान गर्न सिक्नू । श्रममा विश्वास गर्नू । चारहातखुट्टाका नङ्ग्रा खियाउन सक्ने मान्छे जुनसुकै दुःखको पनि सामना गर्न सक्छ।

तिमीलाई लाग्नसक्छ विदेशमा पैसा टिप्न मिल्छ।  स्वदेशबाट हेर्दा पैँसा आकाशबाट खसेको वा धर्तिमा उम्रेको सोहोरेर बोरामा जकाएर ल्याउने जस्तो देखिन्छ विदेश।हो पक्कै पैसा आकाशमा छरेको हुन्छ विदेशमा। अच्चम्म लाग्ला तिमीहरुलाई। अहिले नै विदेशिन मन लाग्ला यो सुन्दा तर धैर्य गर। त्यो आकाश कालो हुन्छ,ग्यासच्याम्बर जस्तै। निस्पट्ट अँध्यारो, बाघ, भालु, अजिङ्गर जस्ता हिंस्रक जनावरलाई छलेर टिपे जस्तै हुन्छ पैसा।त्यो पनि सजिलै हात लाग्दैन। कहिले दायाँ चिप्लिन खोज्छ, कहिले बाया चिप्लिन खोज्छ। टिप्दाटिप्दै अधेरोमा खुट्टा लरखरायो भने त्यो पैसा कहिल्यै टिपिँदैन फेरि।अनि तिम्रो हातमा रातो बाकस आइपुग्न सक्छ।यथार्थ भन्दैछु, मुटु दरिलो पारेर पढ्नू । पैसा आगोमा राखिदिएको हुन्छ। फलामका भट्टिको आगोमा।त्यो आगोले भेट्टायो भने त्यो पैसा टिप्नसकिँदैन, बरु आफ्नो ज्यान टिपिन्छ आगोमा। यति पढ्दै गर्दा पक्कै तिम्रो आखा भिज्नेछ्न। कहिकेकाँही आँखाबाट आशु झर्नुलाई कमजोरी न ठान्नू। मानवताभित्र आँशु लुकेको हुन्छ। आँशका खोल्साहरु मिसिएर भावनाको भेल बन्छ । भावनाको भेलले बगाइदिनसक्छ। आँशु बगेपश्चातको क्षण उर्जावान हुन्छ। हो, त्यसैलाई समातेर अघि बढ्नु पर्छ।

जिन्दगी संघर्ष हो। कहिले घाम, कहिले पानी भैरहन्छ। यो एक अनिश्चित यात्रा पनि हो, कहिले उकालो, कहिले ओरालो हिडिरहनु पर्छ।  दुखमा न आत्तिनू सुखमा न मात्तिनू भन्ने त सुनेकै छौहोला। हरेक रातलाई धैर्य गरेर बिदाइ गर्नु। रातपछि सुनौलो बिहानीले नयाँनलालित्ययुक्त सम्भावना बोकेर ल्याउँछ । अन्धकारमा हुँदा पनि त्यो लालित्यको सपना देख्न सकिएन भने निसास्सिएर रात मै विलय होइन सक्छ। त्यसकारण हरेक रातलाई बिहानी जन्माउने प्रसब-पिडा भनेर बुझ्नू।

अलिकति यौन र प्रेमका कुरा पनि भन्छु है। न लजाउनु। हुन त तिमीहरु कक्षाकोठामा प्रजनन प्रणाली र मुत्र प्रणालीको बिषयमा पढाइ हुँदा कि उँधोमुन्टो लगाएर बस्छौहोला । कि त एक अर्कालाई कोट्याएर हाँसो थाम्नहातले मुख छोप्छौहोला। किन कि हाम्रो संस्कार यौन र प्रेम सम्बन्धी निकै संकिर्ण छ। छोरीले आमालाई, छोराले बाबालाई'आइ लभ यु' भन्न पनि बहुत अप्ठेरो मान्ने संस्कार ताजै छ अझै। बाहिर यौनशिक्षाका कुरा गर्दा लाजले भुत्तुक्क हुने । भित्रभित्रै लुकेर भागेर सुटुक्क जाने प्रबृति राम्रो हैन।यौवन अवस्थामा प्रवेश गर्दैगर्दा यौन र प्रेम सम्बन्धी जानकारी हुनु,शिक्षा पाउनु अत्यन्तै आवश्यक हुन्छ।

 बिशेष गरी  छोरी तिमी किशोरावस्थामा प्रवेश गरिसकेकी छौ।आफ्नो शारीरिक र मानसिक परिवर्तनलाई सहजै रुपमा स्वीकार गर्नुपर्छ ।यो तिमीमा आएको परिवर्तन प्राकृतिक रुपमा पाएको सुन्दर उपहार हो।आफ्नो यौन परिवर्तन र शारीरिक रूपमा आएको परिवर्तन बारेमा परिवार,समाज र बिद्यालयमा गुरुबा गुरु आमासँग निस्संदेह बिना कुनै धक सोध्न सक्छौ ।हुन त हाम्रो समाजमा छोरीले यस्तो प्रश्न गर्दा उत्ताउली भन्लान् भन्ने डर लाग्ला। तिमी मेरो लागि एक निडर साहासी एक शिक्षित सन्तान हौ।सामाजिक  बन्धन र परम्परागत बिसंगतिलाई तोड्दै एक सुनौलो समाजको सिर्जना गर्नको लागितिमी नै अघि बढ्नु पर्छ।सामाजिक कुसंस्कार,कुरीतिलाई छिचोल्दै सकारात्मक परिवर्तनको नयाँ खाका तयार गर्न तिमी नै कम्मर कस्नुपर्छ।यी गिद्देदृष्टि भएका रावणलाई कानुनको  कठ्घरामा ल्याएर सजाय दिनु छ।जबसम्म तिमी निडर बलियो हुदैनौ, समाजमा रहेका हिंस्रकरुले तिमीलाई चिथोरी रहनेछन् ।त्यसैले तिमी आफै उठनु छ, आफ्नो रक्षा र अधिकारको लागि तिमी उठ।तिमीआफूलाई एक्लो न ठान्नु ।तिम्रो बाबाको हरपल पुर्ण अभिभावकत्व रहनेछ।

अँ, प्रेम र यौनका बिषयमा तिमीहरुलाई केहि भन्न खोज्दै थिएं । के हो त प्रेम? के हो यौन?

मैले जाने जति तिमीहरुलाई जानकारी दिँदैछु।मानव वृद्धि र बिकासका क्रममा जब मान्छे परिपक्क्व(mature)बन्छ प्रजनन ग्रन्थिको चरम विकास हुन्छ र त्यसले मान्छेलाई यौन उत्तेजना बढाइदिन्छ।यो एउटा जैबिक प्रकृयागत आवश्यकता हो। यो मान्छेमा मात्र हुदैन हरेक प्राणी रवनस्पतिमा पनि हुन्छ।यसलाई जति चासो दियो, त्यति अनियन्त्रित  भैदिन्छ। त्यसकारण धेरै अनावश्यक यौन सम्बन्धी उत्तेजनात्मक कृयाकलापहरुतिर ध्यान दिनुहुँदैन। जस्तै साथीसंगी संग यौन सम्बन्धी अनावश्यक कुरा गरेर जिस्किनु, बिपरित लिङ्गिलाई कुदृश्टि लगाउनु या अनावश्यक जिस्क्याइ हिड्नु। एकान्तमा यौन कै बिसयमा सोचिरहनु आदि। यसले मान्छेलाई अनावश्यक यौन उत्तेजना मा पुर्याउछ ।

जति यस बारेमा दिमाग चलायो उति आकांक्षा बढ्छ। उपयुक्त अवसरको लागि दबाब दिन्छ। जब उपयुक्त अवसर भेट्दैन, तब मान्छे अपराधहरु गर्न पुग्छ।यसो भनेर आफ्ना दौतरी संग सामान्य हासिमजाक,जिज्ञासासाटासाट पनि गर्नहुँदैन भन्न खोजेको होइन ।कहिलेकाँही हस्तमैथुन गर्नु या स्वप्नदोष हुनु सामान्य र स्वभाविक प्रकृया मानिन्छन् । यस्ता प्रक्रियालाई असामान्य सोचेर अपराधबोधवा ग्लानी पनि गर्नहुँदैन ।

 प्रेम,
यो अत्यन्तै गहिरो विषय हो। यसका विषयमा धेरै दार्शनिकले धेरै ब्याख्या विश्लेषण गरेका छन् । तर मेरो बुझाइमा प्रेम जो संग पायो त्यै संग, जतिबेला पायो त्यतिबेला, जसरी सक्यो त्यसरी गरिने चिज हैन। योविशेष ध्यान पुर्‍याएर गरिने चिज पनि हैन। यो आफसेआफ हुन्छ। जब कसैलाई दिलदेखि प्रेम गरिन्छ, तब त्यो मान्छे आफ्नो नजरबाट कहिल्यै टाढा हुँदैन। त्यो जतिसुकै खराब होस् असल देखिन्छ। त्यो जतिसुकै कुरुप होस् सुन्दर देखिन्छ। त्यो जतिसुकै टाढा होस नजिक देखिन्छ।जस्तै एक बाबु या आमाले आफ्नो सन्तानलाई जति कुरुप भए पनि सुन्दर देख्छन। त्यस्तै सन्तानले पनि आफ्नो आमा या बाबुलाई त्यस्तै देख्छ भने त्यो प्रेम हो।जतिसुकै गरिब होस् हाम्रो देश सधै छातीभित्र कुदिएको हुन्छ। त्यो राष्ट्र प्रेम हो।

तिमीहरुलाई आवश्यक पर्ने प्रेमी प्रेमिकाबिचको, केटाकेटीबिचको प्रेमको कुरा हो। त्यो पनि माथि भनेजस्तै हुन्छ। प्रेम यौनका लागि कहिल्यै गरिदैन। प्रेमभित्र यौन त आउन सक्ला ।शारिरिक विकाससंगै यौन उत्तेजना पनि बढ्दै जाँदा विपरित लिङ्गीप्रति आकर्षित हुनु नौलो हैन। तर त्यसरी आकर्षित हुदैमा प्रेम बस्यो भन्न हुदैन।

प्रेममा एकअर्कालाई भित्री रुपमा बुझिन्छ। एकअर्काले कुनै पनि अवस्थाको सामना गर्न सक्ने वचनवद्दता गर्छन् । त्यो मुखले हैन दिलले।प्रेममा लेनदेन हुदैन। हिसाबकिताव हुदैन। सानोठूलो हुँदैन। उचनिच जातिपाति केही पनि हुदैन। जब दिलबाट मन पराइन्छ त्यहाँ कुनै अवरोध आउँदैन। प्रेम कहिलेकाँही एकोहोरो पनि हुन सक्छ। हामी फूल असाध्यै सुन्दर देख्छौं, भेट्ने बित्तिक्कै चुडेर शिरमा सिउरिन मन लाग्छ। तर फूललाई कुनै आभास हुदैन। त्यो एकोहोरो प्रेम हो। प्रेम गर्ने मान्छेले ह्जार वर्ष प्रतिक्षा गर्ने आंट राख्दछ। यौवनको मातले बसेको प्रेम आज प्रगाढ देखिन्छ भोलि धारासायी हुन्छ। चोखो प्रेम प्रतिक्षा मै मिठो हुन्छ। प्रतिक्षाको फल भने झैं।

अहिलेका केटाकेटी प्रेम स्रेम केहि थाहा छैन। आज भेट्यो,भोलि बिहे गर्‍यो, पर्सि डिभोर्स। यो निकै खराब कुरा हो। पहिले दिगो प्रेम बस्नु पर्छ। प्रेम संगसंगै दुबैले आफ्नो भविष्यको निश्चित गर्नु पर्छ। अथवा करियर तयार गर्नुपर्छ अनि बिहे।बिहे जीवन सँगसंगै बिताउन गरिने कुरा हो। भविष्य सुनिश्चित गरेर प्रेमले लयस भएर गरिएको विवाह जीवन बिताउन सहज भैदिन्छ।त्यो एक आदर्श भैदिन्छ।मलाई थाहा छ तिमीहरु यि धेरै कुरामा जानकार छौ। तर जानकारी हुँदाहुदै पनि स्मरण भइरहँदैन। त्यसैले स्मरण गराउन खोजेको मात्र हुँ। जननी माता र जननी  जन्मभूमिलाई सधै समान रुपमा सम्मान गर्न सिक्नु। जस्मा यी दुईको सम्मान हुदैन त्यो मान्छेमा मानवता भेटाउन सकिदैन।मेरा कुनै कुरालेतिम्रो कोमल मनमा ठेस लागेमा माफी गरिदिनू । मैले यति धेरै कुरा त फोनमा पनि  गर्नसक्थेँ । कतिपय भनेको पनि छु तर त्यो स्थायी  हुदैन।त्यसैले लेखेको।

जब तिमीलाई नकरात्मक सोचले सताउँछ तब यो पत्र खोलेर हेर्नु। अहिले तिम्रो सपनाहरू पूरा गर्ने उमेर हो ।सपनाहरु पूरा गर्ने कोशिशमा लागिरहनु। एकदिन यथार्थतामा अवस्य पुरा हुनेछ। यो पूर्ण बिश्वसनीयताका साथ पत्र बन्द गर्दै।

उहीँ तिम्रो बाबा विदेशी भूमिबाट

हालः सिउल, दक्षिण कोरिया

 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत