आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

५ बर्ष अगाडि

बैङ्कक – थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ । 

‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गर्नुभएको थियो । 

राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ । 

तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो । 

उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्याग्नुभएको थियो । तर जेन्सेनसँग उहाँको सम्बन्ध विच्छेद भएपछि थाइल्यान्ड फर्कनुभएको थियो । त्यसपछि पनि उहाँलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ । 

फेरी पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलिय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले शुक्रबार बेलुका बताउनु भयो । 

शाही दरबारद्धारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ । 

आउदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्विकार गर्नुभएको थियो । 

थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । 

थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् । 

थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ । 

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ । 
थाइल्याण्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो । 

यो पार्टी अर्बपति थाई नेता थाक्सिन सिनावात्राको प्रभावमा रहेको मानिन्छ । उहाँ थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुनुहुन्छ । उहाँलाई थाइल्याण्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् । 

उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उहाँकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । 

राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उहाँ आफूलाई यस पटकको चुनावमार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक हुनुहुन्थ्यो । उहाँ विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा हुनुहुन्छ । 

आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने राजकुमारीको घोषणासँगै प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । उहाँ फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार हुनुभएको छ । 
आगामी निर्वाचनमा मुख्यगरी उहाँहरुकै बीचमा प्रतिश्पर्धा हुने देखिएको छ । प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने राजकुमारीको घोषणासँगै विश्वको ध्यान एक पटक फेरी थाइल्याण्डतर्फ तानिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया