लगानी र उद्यमशीलताका लागि नीतिगत परिवर्तन आवश्यक

५ बर्ष अगाडि


काठमाडौं – नेपालको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलताको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको छ ।

नेपाल उद्योग परिसंघले देशमै उद्यमशीलताको विकास गर्न प्रेरित गर्ने उद्देश्यले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहयोगमा फागुन २ गते काठमाडौमा नेपाल उद्यमशीलता सम्मेलन २०१९ को आयोजना गर्दै छ । ‘संघीय नेपाल ः लगानी र आर्थिक वृद्धिको अवसर’ विषयमा आयेजना सम्मेलनमा ७ ओटै प्रदेशबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

सम्मेलन तयारीका बारेमा जानकारी दिन आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगीहरुले लगानी र उद्यमशीलताको विकासको लागि नीतिगत परिवर्तन आवश्यक भएको बताए । उनीहरुले मुलुक संघीयतामा गइसकेको अवस्थामा यो सम्मेलनले लगानी र उद्यमशीलताको लागि कस्तो कानून आवश्यक छ भन्ने बारे सातै प्रदेशको धारणा आउने हुनाले सम्मेलन फलदायी हुने अपक्षा गरे । 

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा राजनीतिक परिवर्तन भएपनि अझै आर्थिक विकासको मार्गचित्र स्पष्ट नदेखिएको बताए । भाषणले आर्थिक समृद्धि नआउने हुँदा संघीय, प्रादेशिक सरकारमा आर्थिक विकासका लागि स्पष्ट दृष्टिकोण आवश्यक भएको उनले बताए । अध्यक्ष शर्माले अहिले उद्योग वा उद्यमशीलताको विकासभन्दा अन्य क्षेत्रमा काम गर्ने प्रवृति बढ्दै गएकाले युवा समुदायलाई उद्यमशीलतातर्फ आकर्षित गराउन यो सम्मेलन अर्थपूर्ण हुने बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष शतिशकुमार मोरले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र युवा उद्यमशीलताको विकास गर्न सकिने बताउँदै यस सम्मेलनले उद्यमशीलताको केही साझा दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरे ।

सम्मेलनमा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना वक्ताहरुको उद्यमशीलताका बारेमा प्रस्तुतिकरण रहने तथा ६ जना उद्यमीबाट आफ्ना अनुभव आदान प्रदान हुने आयोजकले बताएको छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुहुनेछ भने प्रधानमन्त्री केपी ओलीबाट विशेष सम्बोधन हुने र पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट समापन समारोहमा विशेष सम्बोधन हुने आयोजकले जानकारी दिएको छ ।

 सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायी एवम् विदेशी उद्यमीहरु, सातै प्रदेशबाट १५÷१५ जना युवा उद्यमीहरु नयाँ प्रविधि र कार्ययोजना सहित उद्यमशीलताको प्रवर्द्धनमा संलग्न युवा उद्यमीहरु, नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरु, योजनाविद्, अर्थविद्, राजनीतिज्ञ लगायत गरी ४०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया