प्रदेशस्तरीय प्रतियोगिता

५ बर्ष अगाडि

बनेपा – मुवा थाई सङ्घ काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा तेमाल गाउँपालिकास्थित पोखरी नारायाण स्थानमा आगामी फागुन ३ र ४ गते प्रदेशस्तरीय ‘मुवा थाई’ प्रतियोगिता हुने भएको छ । 

किक बक्सिङ तेक्वान्दो कराँतेको सङ्युक्त स्वरुपको उक्त प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी हुने आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा सो शाखाले जनाएको हो । “फुल कन्ट्याक बेसमा खेलिने सो खेलमा पाँच जिल्लाका ६० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।” शाखा अध्यक्ष बज्र लामाले भन्नुभयो, “यो खेल कठिन मार्सल आर्ट भएकाले यसमा खेल अवधिभरिका लागि प्रतिखेलाडी रु एक लाखसम्मको बीमा गरी प्रतियोगिता आयोजना गर्दैछौँ ।” 

खेलको माध्यमबाट ग्रामीण भेगलाई चिनाउने र त्यहाँका युवालाई पनि यस खेलमा आकर्षित गरेर संस्थागत विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ४८ केजीदेखि ५१ केजी तौल समूह र ५३ केजीदेखि ५७ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५१ केजी तौल समूहको प्रतिस्पर्धा हुने जनाइएको छ । 

सो खेलमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई रु पाँच हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सो खेलमा खुला तौल समूहमा पनि प्रतिस्पर्धा हुने भएको छ । 

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले पहिलोपटक बीमाको व्यवस्था गरी गर्न लागिएको प्रतियोगिताले खेलाडीको मनोबल बढ्ने बताउनुभयो । उहाँले ग्रामीण भेगमा गरिने सो प्रतियोगिताले दुर्गम क्षेत्रबाट पनि खेलाडी उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ यो सङ्घले चासो दिनुपर्ने सुझाव दिनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया