किन लाग्छ पखला? यस्तो छ पखला लाग्ने कारण

५ बर्ष अगाडि

सामान्यतया दिनमा तीनचार पटकभन्दा बढी पातलो दिसा हुने अवस्थालाई झाडापखला भनिन्छ । यो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुने गर्दछ भने कमजोर, बूढाबूढी ससाना केटाकेटी तथा दुब्ला पातला खालका व्यक्तिहरुलाई धैरैपटक भएमा त्यसले जीवनै खतरामा पार्दछ । गर्मी एवं वर्षायाममा यो समस्या बढी तथा प्रसारित हुने गर्दछ भने जाडो समयमा पनि हुने गर्दछ । हाम्रो देशमा प्रत्येक वर्ष हजारौँ बालबालिका झाडापखालाको कारण मर्ने गरेका छन् ।

झाडापखालाको समस्यामा पहिले दिशा गिलो हुने, पेट फुल्ने, कराउने जस्ता लक्षणहरु देखा पर्दछ । त्यसपछि दिशा पातलो हुँदै जान्छ र एकदमै पातलो दाल वा चामल पखालेको चौलानी जस्तै हुन थाल्छ । दिसा बसेर एकैछिन पुग्न नपाउँदैमा फेरि दिसा बस्न मन लाग्छ। दिसा निस्कँदा वायु पनि निस्कन्छ । पखाला लाग्दा कसैलाई पेट दुख्छ भने कसैलाई दुख्दैन वा भारीपना मात्र हुन्छ । कसैलाई झुसीलो डकार आउँछ । कसैलाई बान्ता हुने वा वाववाकी लाग्ने हुन्छ ।

सामान्य अवस्थामा हामीले खाएको खानेकुरा आमाशय तथा आन्द्राबाट पच्ने क्रममा तिनीहरुले त्यहाँ भएको तरल पदार्थ सोस्ने गर्दछन् तर पखाला लाग्दा आमाशय तथा आन्द्राले यो गर्ने वा सोस्ने काम गर्न सक्दैन । हामीले कुनै चिज वा पानी खाँदा मात्र हैन नखाएको अवस्थामा पनि आन्द्रामा पानी वा तरल पदार्थ जम्मा भइरहेको हुन्छ । कलेजो, अग्न्यासय(प्यानक्रियाज) लगायत आमाशय र आन्द्रा स्वयंले पनि तरल पदर्था स्राव गर्दछन् । फलस्वरुप पानी नपिएको अवस्थामा पनि पखाला लाग्दा पानीको मात्रा धेरै निस्कन्छ । धेरै पखाला लागेमा हाम्रो शरीरको पानी धेरै बाहिरिएर हाम्रो शरीरमा निर्जलीकरण हुन जान्छ साथै पखाला लाग्दा हाम्रो शरीरको नून(सोडियम) र चिनी(ग्लूकोज) बढी मात्रामा निस्कने हुनाले शरीरमा ती तत्वको कमि हुन जान्छ र शरीर अत्यन्तै शिथिल हुने एवं एकैछिनमै थला पर्ने पनि हुन सक्छ ।

पखाला किन लाग्छ ? 
यो रोगको मुख्य कारण फोहर र विषाक्तता हो । जताततै वा जहाँ पायो त्यहीँ फोहर वा दुर्गन्धित फोहर पदार्थहरु मिल्काउँदा, फोहर वस्तुको प्रयोग गर्दा त्यसबाट पखाला लाग्न सक्छ । वर्षायाममा विभिन्न ठाउँमा फोहर पानी जम्नु, शहरमा ढल निकासको राम्रो व्यवस्था नहुनु, स्वच्छ र सफा पिउने पानीको अभाव खट्किनु ग्रामीण क्षेत्रमा वा शहरी क्षेत्रमा समेत दिसापिसाब जहाँ पायो त्यहीँ गर्नु, चर्पी फोहर र भान्छा वा खाने ठाउँ नजिकमा रहनु आदि अनेक कारण एवं क्रियाकलापहरुले गर्दा विभिन्न किटाणुहरुको संक्रमण भै पखाला लाग्दछ । 

सडेगलेका वस्तुहरु प्रयोग गर्नु, आवश्यकता भन्दा बढी खानु अनावश्यक चिल्लो एवं विकृत खानपानहरु धेरै खानु, राम्ररी सफा नगरेको वा फोहर एवं बासी खानेकुरा खानु, प्रदूषित पानी पिउनु तथा भोजनको मिश्रण गुण विपरित धेरै कुरा मिसाएर एकैपटक खानु जस्ता अनेकौँ खानपान सम्बन्धी बेनियम एवं अस्वस्थ्य अवस्थाहले गर्दा प्रायः पखाला लाग्दछ । दिशा गरेपछि साबुन पानीले हात नधोइकन वा विभिन्न काम गरेपछि हात राम्ररी सफा नगरीकन खाना खाने व्यक्तिहरुलाई पनि पखाला लाग्न सक्छ ।

नङ नकाट्ने र त्यसलाई फोहर राख्ने गर्दा पनि कुनै चिज खाँदा त्यसबाट पेटमा कृमि÷परजीवि÷किटाणु÷विषाण्ुाहरु विकारको रुपमा प्रवेश गरी पखाला लाग्ने हुन सक्छ । अहिले खानपान राम्रै खाइएको भए पनि पहिले पेटभित्र भएको विकार र जुका, अमीबा, जिआर्डिया आदि परजीवि, किटाणुहरुले संक्रमित गरेको अवस्था छ भने पखाला लाग्न सक्छ । यसबेला पेट दुुख्ने, खाना नरुच्ने, वाकवाकी लाग्ने, आउँ पर्ने, रगतमासी पर्ने र वान्ता हुने जस्ता लक्षणहरु पनि उत्पन्न हुन सक्छन् ।

कसैलाई पाचनसम्बन्धी कमजोरी अर्थात् अपचको समस्या छ भने पनि सामान्य खानेकुरा खाँदा पनि पखाला चल्ने हुन्छ । नाक,कान, दाँत, घाँटी जस्ता अंगहरुमा केही संक्रमण वा समस्या भयो भने त्यसका कारण पनि पखाला लाग्ने हुन सक्छ। पित्त थैलीमा पत्थरी वा पित्ताशयको शोथ, कलेजोको कुनै समस्या वा ठूलो आन्द्रामा शोथ वा व्रण जन्य शोथ भएमा पनि पखाला लाग्न सक्छ ।

आकस्मिकरुपले डर लाग्दा वा झसङ्ग हुँदा पनि कसैकसैलाई पखाला लाग्न सक्छ । यस्तो प्रायः बच्चाहरुलाई हुने गर्दछ । खाना खाएको लगत्तै बढी दौडने, उफ्रने व्यायाम वा पेटमा दवाव पर्ने गरी व्यायाम गरेमा त्यसको कारण पनि पखाला लाग्न सक्छ ।

झाडा पखालाको प्रकोप महामारीको रुपमा पनि फैलन सक्छ । प्रायः ठूला दैवी प्रकोपहरु जस्तैः भुकम्प, बाढी पैह्रो, हुरी बतास आदिमा मासिन र अन्य जीवजन्तु धेरै मरेर लाशहरु त्यसै धेरै दिन रहेमा त्यसबाट तीव्र रुपमा झाडा पखाला लगायत अन्य संक्रामक रोगहरु लगदछन् । त्यसरी नै फोहर क्षेत्रमा यसको महामारी फैलिन्छ । झडाा वान्तालगायत हैजाको समस्या र महामारी फैलिएमा र समयमै उपचार नगरेमा धेरेको मृत्यु हुने निश्चित हुन्छ । झाडापखाला एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्न सक्दछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्ने प्रमुख तत्व मानिस स्वयं हो भने झिंगा–भुसुना जस्ता कीराहरु र सुँगुर, कुकुर आदि जनावरहरुले पनि यसलाई प्रसार गरेर अर्कोलाई सार्ने गर्दछ ।

यसरी समग्रमा झाडा पखालाको कारणहरुलाई विश्लेषण गर्दा अप्राकृतिक खानपान, शरीरको कमजोर जीवनी शक्ति, शरीरभित्र एवं बाहिरी वातावरणको प्रदूषित एवं विकारमय अवस्था आदि नै यसको मूलकाण हो र किटाणु वा परजीविहरु त्यसपछिको दोस्रो कारण हो भन्ने बुझिन्छ ।

बच्ने र रोकथामको उपाय 
स्वास्थ्य र सरसफाइको सम्बन्ध कतिको घनिष्ट छ भन्ने कुरा यहाँ उल्लेख गरिराख्नु जरुरी छैन । त्यसैले पनि स्वस्थ्य हुन चाहेमा प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत सफाइदेखि लिएर घर, समाज सबैतिर स्वच्छ र सफा राख्नेतिर कदम चाल्नु पर्छ । शिक्षित एवं बुझ्ने व्यक्तिहरुले झाडा पखाला र वान्ताबाट बच्नको निम्ति यसका कारणहरुबारे नबुझेकाहरुलाई बताउनु पर्दछ । बच्चाहरलाई जताततै दिशा गर्न दिनु हुँदैन ।

निश्चित स्थानमा वा चर्पीको प्रयोग गर्नु गराउनु पर्छ । चर्पी वा दिशा गर्ने ठाउँ फोहर र जथाभावी भएमा रोगका किटाणुहरु झिंगाको माध्यमद्वारा हाम्रो खानासम्म आइपुग्छन् । त्यो खाना खाएपछि हामीभित्र त्यस्ता किटाण्ुहरु प्रवेश गर्छन् र हामीलाई पनि त्यस्तै समस्याले पिरोल्छ । यसरी नै हैजाका किटाणुहरु घरको परिवार तथा छिमेकमा समेत महामारीको रपमा फैलन सक्छ । सरुवा रोग भएको कारणले मुख्यतः सरसफाइमा ध्यान दिएमा यस्तो रोगले छुन पाउँदैन, त्यसैले हामीले आफ्नो खानेकुरामा झिंगा बस्न दिनुहुँदैन ।

रोगीको दिशामा बसी विभिन्न थरिका रोगका किटाणुहरु बोकेर आएको झिँगा आफ्नो खानेकुरामा नबसोस् भन्नाका निम्ति हरेक क्षण पिउने पानी समेतलाई छोपी राख्नु पर्छ र घरमा झिँगा आउन नमिल्ने खालको वातावरण तैयार गर्नुपर्दछ । घर नजिक झिँगा, भसुना आदि बस्ने वातावरण पैदा हुन दिनु हुँदैन र गाईवस्तुको गोठ पनि सँगै राख्नु हुँदैन वा अति स्वच्छ राख्ुनु पर्दछ ।

पखाला एवं हैजा नलागोस् भन्नाका निम्ति सधैँ खाना खानुभन्दा अघि सबेले साबुन पानीद्वारा राम्ररी हात धुनु पर्दछ। साथै खाने भाँडाकुँडालाई पनि साबुन पानी वा तातो पानीले पखाल्नु पर्दछ । यदि पखाला लागि हालेमा पनि प्रशस्त मात्रामा तरल पदार्थहरु खानु–खुवाउनु पर्दछ । घरमा सजिलैसँग बनाउन सकिने जीवन–जल वा नून, चिनी, पानी प्रशस्त मात्रामा पिउनु पिलाउनु पर्छ । रोगीको शरीरबाट कति मात्रामा पानी निस्केको छ त्यो अवस्थालाई हेरी छिनछिनमा यस्तो पानी वा अन्य कुनै तरल वस्तु खुवाउनु अत्यावश्यक छ। यसरी रोगीलाई फलफूलको रस, सागपातको झोल, गेडागुडीको झोल एवं दाल आदि खुवाउन सकेमा धेरै फाइदा हुनेछ । यसको साथै कागती पानी, मह पानी वा ग्लूकोज पानी पनि रोगीलाई दिइराख्नु पर्दछ । यसले रोगीको शक्तिमा ह्रास हुन पाउँदैन ।

अत्याधिक मात्रमा पखाला लागिरहेमा रोगीलाई चिकित्सकहाँ वा अस्पतालमा लैजानु पर्दछ । बुझ्दै नबुझी जथाभावी दिसा रोक्ने खालको औषधि खुवाउनु हुँदैन । यो रोगलाई सामान्य सम्झेर वास्ता नगरी बसेमा यसले रोगीलाई नराम्रो असर पर्छ । साथै उपचार गरेर सन्चो भएपछि पनि रोगीको कमजोरी अवस्थालाई हटाउनको निम्ति सको लागि आवश्यक पौष्टिक खानाहरु ख्ुवाउनु पर्दछ । फलफूल, दूध तथा अन्य प्रोटिनजन्य खाना खुवाएमा व्यक्तिले पुनः स्वास्थ्य प्राप्त गर्न सक्छ ।

झाडापखालाले प्रायः बच्चा, कमजोर र बूढाबूढीलाई तुरुन्तै सिकिस्त पार्न सक्छ । यसबेलामा बढी ध्यान दिनु पर्छ र शुरुदेखि नै लगातार सफा पानी, तरकारी वा दालको झोल आदि खुवाइ हाल्नु पर्दछ । आफूले प्रयास गर्दा पनि झाडा पखाला नथामिएमा रोगीलाई सलाइन पानीका साथमा अरु थप उपचारहरु पनि दिनुपर्ने हुन सक्छ । त्यसैले नजिकको स्वास्थ्य केन्द्रमा लगिहाल्नु पर्दछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया