महरलाई धक्का, सबै निर्णय माउ पार्टी काँग्रेसद्वारा बदर

५ बर्ष अगाडि

काठमाडौँ– नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिए । 

 सङ्घका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले सो निर्णय गरेको हो । 

सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामादिएका थिए र सोही दिन राजीनामा स्वीकृत भएको थियो । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आआफ्नो धारणा राखेका थिए । 

काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी फागुन १ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया