समलिंगी विवाह सम्बन्धी चलचित्र म होइन म करोड क्लवमा

५ बर्ष अगाडि

काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र म होइन म ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको हो ।

नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन । युट्युवमा झण्डै नौ सय प्रतिक्रिया पाएको म होइन म चलचित्रले समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार देखाएको छ ।  

चलचित्रको सुरुवात एक भव्य महल, पार्किङमा गाडी, समाजमा उच्च इज्जत भएको परिवारमा कान्छो छोराको विवाहबाट हुन्छ । विवाहको रात दुलाहा (अभिषेक र दुलही सिर्जना) को सुहागरातलाई परिवार र उसका साथीहरूले चासोका साथ ढोकाबाट चिहाई चिहाई हेर्छन् । दुलाहा दुलहीको कोठामा राति के भयो अभिषेकको साथी राज, उसकी श्रीमती सीमा र उसकी अर्की साथी मात्रै होइन, उनका बाबुआमा र दाइले पनि जान्न खोज्छन् ।

आफैँले आफ्नो बारे परिवारलाई नबुझाए समाजले पनि नबुझ्ने निष्कर्षमा पुगेको अभिषेक भन्छ– तपाईंहरूलाई मलाई देखेर लाज लाज्छ, तर मलाई के लाग्छ तपाईंहरू सुन्न सक्नुहुन्छ ? मलाई मेरो पूरै परिवार देखेर लाज लाग्छ । आमाले मेरो समलिंगी व्यवहारलाई रोग सम्झनु भयो । मलाई बुझ्दै नबुझी यो विवाहको नौटंकी गर्नुभयो । बुबाले त आजसम्म मेरो अनुहार नै हेर्नु भएको छैन.।

जब अभिषेकले आफैं खुलेर परिवारलाई आफ्नो बारे कुरा राख्छ, तब उसको परिवारले स्वीकार गर्छ । परिवारले अभिषेकलाई गरेको व्यवहारप्रति पश्चाताप व्यक्त गर्छ । झुक्काएर गरिएको विवाहबाट सिर्जना मुक्त हुन्छे । अन्त्यमा सिर्जना र अभिषेक आ–आफ्नो नयाँ जीवन सुरु गर्न स्वतन्त्र हुन्छन् । अनि चलचित्र सकिन्छ ।

यो चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा समेत दखाइएको थियो । समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको चलचित्र हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया