यी डाक्टर जसले आफ्नै शुक्रकिट प्रयोग गरी ११ महिलालाई गर्भवती बनाए

५ बर्ष अगाडि

क्यानडामा एक डाक्टरले आफ्नो शुक्रकिटको अनधिकृत प्रयोग गरी ११ जना महिलालाई गर्भवती बनाएका छन् ।

फर्टिलिटी अर्थात् प्रजनन सम्बन्धी ती डाक्टरले आफूकहाँ सन्तानलाभको उपचारका लागि आउने महिलाहरुलाई उनीहरुका लोग्नेको अनुमति तथा जानकारी विना नै आफ्नो शुक्रकिट प्रयोग गरी गर्भवती बनाएको आरोप लागेको छ ।

नर्मन बारविन नामका डाक्टरले त्यसो गरेर ११ जना महिलालाई गर्भवती बनाई ११ वटा बच्चाका जैविक पिता बनिसकेका थिए ।

ती डाक्टरले किन त्यस्तो अपराध गरे ? भन्ने बारेमा खुलेको छैन । आफूकहाँ उपचारका लागि आउने महिलाको अनुमति र जानकारी विना नै आफ्नो शुक्रकिटबाट गर्भवती बनाउने गम्भीर अपराधको पर्दाफास भएसँगै त्यसले ठूलै तहल्का मच्चाएको छ ।

यस प्रकारको पहिलो घटना सन् २०१६ मा सार्वजनिक भएको थियो । जब ओटावाका एक दम्पत्तिले ती डाक्टरमाथि सन् १९९० मा आफ्नो कृत्रिम गर्भाधानका क्रममा लोग्नेचाहीँको शुक्रकिटको साटो डाक्टरले आफ्नै शुक्रकिट प्रयोग गरी पत्नीलाई गर्भवती बनाएको दाबी गरेका थिए ।

सन् १९९० मा जन्मिएकी छोरी डाक्टरको शुक्रकिटबाट जन्मिएको अनौठो दाबीसहित दम्पत्तिले उजुरी गरेसँगै भएको छानविनका क्रममा ती डाक्टरको करतूत पर्दाफास भएको हो ।

अनुसन्धानपछि केही अनौठा तथ्यहरु पनि बाहिर आए । ती डाक्टरको शुक्रकिटबाट महिलाहरु गर्भवती हुने क्रम सन् १९७० देखि नै सुरु भएको खुलासा भयो । उनीसँग फर्टिलिटी उपचार गराएका महिलाहरुबाट जन्मिएका बच्चाबच्चीहरुको डिएनए टेष्टका क्रममा ११ जना बच्चाहरु उनको शुक्रकिटबाट पैदा भएको पत्ता लागेको छ ।

अन्य १६ जना दम्पत्तिहरुले आफ्ना बच्चाबच्चीको डिएनए आफूले शुक्रकिट दानका लागि छनोट गरेको पुरुषको डिएनएसँग नमिलेको बताएका छन् ।

त्यस्तै ती डाक्टरले शुक्रकिटको मामिलामा गडबडी गरेका अरु ३५ वटा घटना पनि फेला परेको बताइएको छ । यस विषयमा अझैसम्म पनि छानविन चलिरहेको बताइएको छ ।एजेन्सी ।

५ बर्ष अगाडि

प्रतिक्रिया