बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

५ बर्ष अगाडि

रियो डे जानेरो – ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ । 

अझै पनि उक्त दुर्घटनामा परेका १५५ व्यक्ति बेपत्ता रहेका नागरिक प्रतिरक्षा विभागले बुधबार जानकारी दिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । 

बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १६६ पुगेको र अझै पनि १५५ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यस घटनामा परी मारिएका मध्ये १६० जनाको परिचय खुलेको बताइएको छ । 

शुरुमा यस घटनामा फसेका करिब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताउनुभएको थियो । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका हजारौको सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका थिए । 

बाँध भत्किएको यस इलाकामा ३२७ अग्नीनियन्त्रक र उद्धारकर्ताले ४३ ओटा भीषण मेशिनको प्रयोग गर्दै अझै पनि लगातार उद्धारकार्यमा जारी राखेका बताइएको छ । 

उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया