गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

५ बर्ष अगाडि

डोटी – जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । 

गाउँमा हुने विकास निर्माणमा मेसिन मात्रै प्रयोग हुन थालेपछि डोटीका ग्रामीण क्षेत्रका स्थानीयवासी रोजगारीका लागि छिमेकी मुलुक भारत जान बाध्य भएको जोरायल गाउँपालिका–५ निरौलकी स्थानीय चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माण हुने ठाउँमा मेसिन प्रयोग हुँदैछन्, मजदुरले काम पाउँदैनन्, काम नपाएपछि कमाउन त भारत पस्नै प¥यो ।” 

यहाँका स्थानीयवासीलाई रोजगारीका लागि भारत जानुको विकल्प नभएको उहाँको दावी छ । पुरुषजति रोजगारीको खोजीमा भारत गएपछि गाउँमा महिला, वृद्धवृद्धा तथा बालबालिका मात्रै रहेको वोगटान गाउँपालिका–१ का कमलसिंह बमले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणजस्ता ठूला योजनामा मेसिन प्रयोग हुन्छ, पुरुषजति काम खोज्न भारत छन्, गाउँ युवाविहीन छ ।” 

रु एक करोडसम्मका निर्माणकार्य उपभोक्ता समितिमार्फत गर्न पाउने प्रावधान भए पनि यहाँका ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा मेसिन हावी भएका छन् । उपभोक्ता समितिले पनि डोजरकै प्रयोग गरेको पाइएको जोरायल गाउँपालिका–५ का स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उपभोक्ता समितिले पनि डोजर नै प्रयोग गर्न थालेका छन्, मजदुर विस्थापित छन् ।” मेसिनको प्रयोग हटाएर स्थानीय मजदुरलाई नै काम दिएको खण्डमा यहाँका युवा तथा मजदुरहरु विस्थापित नहुने स्थानीयवासीको भनाइ छ । यहाँका स्थानीयवासी कामका लागि वर्षेनी भारतका विभिन्न शहर पञ्जाब, बरेली, लुधियाना, बैङ्लोर, दिल्ली, उत्तराखण्ड, कुमाउ, गडवाल जाने गर्दछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया