आजदेखि कोलकातामा पनि 'ईसीटीएस' सिस्टम लागू, व्यवसायी भन्छन् अब एजेन्टहरूको चलखेल समाप्त हुन्छ

५ बर्ष अगाडि

काठमाडौँ – भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा शुक्रवारदेखि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) लागू हुने भएको छ । 

तेस्रो मुलुकबाट हुने नेपाली आयातमा यसअघि कोलकाता बन्दरगाहमा हुँदै आएको भन्सार प्रक्रिया हटाउन यो प्रणाली लागू गर्न लागिएको हो । कोलकाता पोर्ट ट्रस्ट मातहतको हल्दिया बन्दरगाहमा पनि यही प्रणाली अपनाइनेछ ।

यो प्रणालीबाट सामान आयात गर्दा वीरगञ्जमा सामान बुझाएपछि मात्र दिनगन्ती शुरु हुने भएको र कागजी प्रक्रियासमेत घट्ने भएकाले एजेन्टहरूको चलखेलसमेत कम हुने व्यवसायीले बताउँछन् ।

यसरी सामान पठाउँदा कोलकाता बन्दरगाहले प्रत्येक कन्टेनरमा इलेक्ट्रोनिक डिभाइस लगाउने गर्छ । उक्त डिभाइसलागत वापत नेपाली व्यवसायीले ३ हजार ३ सय भारु भुक्तानी गर्नुपर्ने हुन्छ ।

पहिले पानीजहाजबाट कोलकाता बन्दरगाहमा कन्टेनर झार्ने बित्तिकै दिनगन्ती शुरु हुन्थ्यो । एजेन्टहरूले विभिन्न ठाउँमा हस्ताक्षर गराउनुपर्ने निहुँमा चलखेल गरी सामान्य जाँचपासमा झन्झट र भन्सार प्रक्रियाको नाममा व्यवसायीहरुबाट पैसा असुल्ने काम गर्थे ।

यो प्रणाली लागूसंगै वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकलाई कार्यक्षमता बढाउने दबाब बढेको छ। ईसीटीएस कार्यान्वयनले वीरगञ्ज सुक्खा बन्दरगाहमा कन्टेनरको चाप बढ्ने हुँदा व्यवस्थापन प्रभावकारी बनाउन बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिले सरोकारका पक्षसित समन्वय तीव्र बनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया